Monday, December 14, 2015

पर्यटन प्रवद्र्धनका लागि मोबाइल एप्स प्रविधि

काठमाडौँ, २८ मङ्सिर । सरकारले देशभरिको पर्यटन क्षेत्रका बारेमा सहज रुपमा जानकारी लिनका लागि मोबाइल एप्सको प्रविधि विकास गर्ने भएको छ ।

नेपालमा पर्यटकीय गन्तव्य कहाँ÷कहाँ छन ?, त्यहाँको सेवा सुविधा के–कस्तो छ ? त्यहाँको हावापानी कस्तो छ ? पर्यटकीय गन्तव्यसम्म कसरी जान सकिन्छ ? भन्ने विषयमा सम्पूर्ण जानकारीका लागि सरकारले मोबाइल एप्स प्रविधिको विकास गर्ने तयारी गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन प्रवद्र्धन गर्न र नेपालको पर्यटनको बारेमा समग्र जानकारी लिन मोबाइल एप्सको प्रविधिको विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । “नेपालका पर्यटकीय गन्तव्य पशुपति, लुम्बिीनीदेखि लिएर साहसिक पर्यटनका क्षेत्र कहाँ कति छन ?, त्यहाँको सेवा सुविधाका बारेमा जानकारी लिन मोबाइल एप्स बनाउन लागेका हौँ, त्यो प्रविधिबाट देशको सम्पूर्ण पर्यटनको गन्तव्य संसारको जुनसुकै ठाउँबाट पनि हेर्न सकिन्छ” उहाँले भन्नुभयो ।

मन्त्री पोखरेलले उक्त प्रविधिको विकास गर्न के गर्न सकिन्छ भनेर आज ‘रोमन म्यागेसेसे’ पुरस्कार बिजेता तथा सामाजिक अभियन्ता महावीर पुनसँग परामर्श गर्नुभयो । पुनले नेपालको पर्यटन विकासका लागि मोबाइल एप्स प्रभावकारी भएको बताउनुभयो । “मोबाइल एप्सको प्रविधि ल्याउनु गाह्रो कुरा होइन, गर्न सकिन्छ” उहाँले भन्नुभयो ।

मन्त्रालयले मोबाइल एप्समा के कुरा राख्ने भनेर मार्ग निर्देशन दिएपछि त्यही अनुरुप सफ्टवयर इञ्जिनियरको सहयोगमा त्यो काम गर्न सकिने उहाँले बताउनुभयो । “जतिसक्दो छिटो सुरु गरेमा चार पाँच महिनामै सो प्रविधि बनाउन सकिन्छ, त्यसपछि इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै स्थानबाट पनि नेपालको पर्यटकीय गन्तव्य हेर्न सकिन्छ” उहाँले भन्नुभयो ।

त्यस्तै, पर्यटन प्रवद्र्धनका अर्को मुख्य आधार नयाँ पदमार्ग पहिचान गरी त्यसको विकास गर्न जरुरी छ । पुनले त्यस्ता नयाँ पदयात्राका मार्गमा अन्नपूर्ण आधार शिविर, धौलागिरि आधार शिविर र पोखरा माछापुच्छे«्रदेखि मनाङ जोड्ने पदमार्गको राम्रो सम्भावना रहेको बताउनुभयो ।

पुन भन्नुहुन्छ, “नेपालमा पर्यटनको विकास गर्न महोत्सव मात्र गर्ने चलन छ । देशको एक ठाउँमा महोत्सव मनाएर पर्यटन विकास हुँदैन । संसारका पर्यटकको आँखा पुग्ने, पर्यटकको मन तान्ने खालको सेवा सुविधा दिएर पदमार्गको विकास गर्न जरुरी छ । साहसिक पर्यटनका लागि ठूलो लगानी पनि चाहिँदैन ।”

पदयात्रामा चार÷पाँच घण्टाको दुरीमा बस्ने र खाने ठाउँको व्यवस्था गर्नुपर्ने र त्यसमा पनि एक ठाउँमा निजी भए अर्को ठाउँमा सामुदायिक व्यवस्था गर्दा राम्रो हुने पुनको सुझाव थियो । समुदायको विकासका लागि साहसिक पर्यटन उपयुक्त हो । त्यसका लागि सफा खाने पानी र निःशुल्क वाईफाईको व्यवस्था गर्दा राम्रो हुने पनि पुनको सुझाव छ ।

मन्त्री पोखरेलले पदमार्गको विकास गर्दा स्थानीय जनतालाई धनी बनाउनु पर्ने भन्दै थप्नुभयो, “साहसिक पर्यटनबाट गाउँका जनता धनी हुनुप¥यो, जनता धनी भए देश पनि धनी हुन्छ ।” मन्त्री पाखरेलले पर्यटन विकासमा कार्बन प्रयोगरहित (जिरो कार्बन पर्यटन) को विकास गर्ने तयारी मन्त्रालयको गरिहेको बताउनुभयो । पर्यटकीय गन्तव्यमा खाना बनाउँदा दाउरा र ग्यासको प्रयोग नगरिकन सोलारको प्रयोग गर्ने र सो क्षेत्रमा प्लास्टिकको प्रयोग पनि निशेध गर्ने रहेको छ ।

पुनले नेपालमा ग्रामीण पर्यटन (होम स्टे), साहसिक पर्यटनको विकास गर्दा पर्यटकले पैसा तिरेपछि सुविधा पनि सन्तुष्ट हुने गरी दिनुपर्ने बताउँदै पैसा तिरे पनि सुविधा पाएपछि पर्यटक खुसी हुने र अनि ढुक्कले खर्च गर्ने बताउनुभयो । नेपालको ग्रामीण पर्यटन र पर्यटन प्रविधिमा २०४९÷५० सालदेखि काम गरिरहनुभएका पुनले म्याग्दीका १० गाविसमा होम स्टे सञ्चालन गरिहनुभएको छ । उहाँले पर्यटकको आर्कषणका लागि वाईफाई र पानी भने निःशुल्क दिने व्यवस्था गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts