काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारको पेसागत र भौतिक सुरक्षा हुनु जरुरी रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौँको वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका प्रचार विभाग प्रमुखसमेत रहनुभएका डा रिजालले मुलुक द्वन्द्वबाट विस्तारै बाहिर निस्कँदै गर्दा पत्रकारमाथि भएको आक्रमण अनुचित भएको उल्लेख गर्दै पत्रकारिताको पेसा र धर्मलाई लिएर काम गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
उहाँले संविधान सम्झौताको दस्तावेज भएकाले वार्ता र संवादबाटै वर्तमान समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । नेताडा रिजालले सरकारले थालेको जनताको संविधान जनताको माझमा अभियान पञ्चायतकालको गाउँ फर्क अभियानजस्तै भएको बताउँदै भन्नुभयो, “संविधान जनतालाई प्रचार गर्नुभन्दा जनताले प्रचार गर्नु राम्रो हुनेछ ।”
पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री डा रिजालले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले जति सहयोग गर्नुपर्ने हो त्यो गर्न नसकेको टिप्पणी गर्नुभयो ।
काँग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले देशको राजनीतिमा सञ्चारमाध्यमको ठूलो भूमिका रहेको भन्दै पत्रकारको पेसागत र भौतिक सुरक्षा हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले २०३३ सालमा आजकै दिनमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले राष्ट्रिय मेलमिलापको नीति ल्याएको भन्दै अहिले पनि देशमा मेलमिलापको खाँचो रहेको बताउनुभयो ।
नेपाल तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले मधेसमा जारी आन्दोलनका सम्बन्धमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन भएकाले यी दुई संस्थाबीच एकापसमा सहकार्यको खाँचो औँल्याउनुभयो ।
वरिष्ठ पत्रकार कविर राणाले पार्टीको आन्तरिक विवादमा प्रेस युनियनलाई ल्याउन नहुने तर्क गर्नुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दुले मधेस आन्दोलनले तराईमा काम गर्ने पत्रकार असुरक्षित भएकाले तराई आन्दोलनलाई चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, काठमाडौँका अध्यक्ष नकुल अर्याल र पूर्वअध्यक्ष गोकर्ण अर्याल, शाखाका सल्लाहकार जीवन भण्डारी, उपत्यका संयोजक नीरज खतिवडा, वाग्मती अञ्चल संयोजक रमेश खतिवडा, ललितपुर र भक्तपुरका अध्यक्ष जानुका बराल र प्रबल भट्टराई, नेपाल ट्रेड युनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराई, नेपाल ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटालगायतले श्रमजीवी पत्रकारका हकहितका लागि प्रेस युनियन दृढ भएर लाग्ने विश्वास व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment