इलाम, ५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले गरेको नाकाबन्दीबाट पाठ सिक्दै आत्मनिर्भर बन्नुपर्ने बनाउनुभएको छ ।
“हामी सदियौँदेखि भारतसँग निर्भर भयौँ, अब परनिर्भर हुन छाडेर आत्मनिर्भर बन्नुपर्छ,” उहाँले भन्नुभयो ।
इलाम नगरपालिका–७ महभीर र सोयाङ–७ बीचमा पर्ने माइखोलामा रहेको अर्चले पुलेको आज उद्घाटन गर्दै नेता खनालले आफँै आत्मनिर्भर भएर गोलभेँडा, आलु फलाउनुपर्छ, अर्काको भर पर्नुहुन्न भन्नुभयो ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकमा चुनौती थपिएको बताउँदै उहाँले नाकाबन्दी अब चाँडै अन्त्य हुने दाबी गर्नुभयो । “नाकाबन्दी लामो टिक्दैन, नाकाबन्दी गर्ने नै थाकिसके, नाकाबन्दी गर्ने भारतभित्रै विरोध उठेकाले अब नाकाबन्दी चाँडै अन्त्य हुन्छ,” उहाँले भन्नुभयो, “नेपालको आन्तरिक मामिलामा विदेशीले हस्तक्षेप गर्न मिल्दैन्, यो अन्तर्राष्ट्रिय हित र कानुन विपरीत छ ।”
संविधान निर्माणको काम सम्पन्न भइसकेकाले यसको सफल कार्यान्वयन र अब पुनःनिर्माण हुँदै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेको अवस्था एकदमै चुनौतीयुक्त रहेको बताउँदै उहाँले वर्तमान संविधानले सबै क्षेत्र, समुदायको प्रतिनिधित्व गरेकाले विश्वमै उदाहरणीय संविधान बनेको जिकिर गर्नुभयो ।
संविधानले सबैको समस्याको ढोका खोलेको बताउँदै उहाँले चित्त नबुझेको कुरा संसद्बाटै समाधान गर्नुपर्ने र नाकामा बसेर मुलुकलाई अप्ठ्यारो पार्नु हुँदैन ।
संविधान निर्माणपछि देशभरनै सडक यातायातको विकास गरी आर्थिक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सांसद केशव थापाले पुल निर्माणले इलाम नगरपालिका र सोयाङको मात्र विकास भएको छैन, जोगमाई, नयाँबजार, नामसालिङलगायतका गाविसको विकास भएको बताउनुभयो ।
उहाँले आफ्नो क्षेत्रमा निर्वाचन क्षेत्र विकास कोषको रकम लगानी गरी विकास निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । रु चार करोड ३५ लाखको लागतमा २०६९ साल असारमा निर्माण सुरू भएको उक्त अर्चले पुल गत असारमा निर्माण सम्पन्न भएको थियो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि खनालले निर्माण कम्पनी मैनाचुली खनाल जेभीका प्रोपाइटर डिल्ली खनाललाई सफलतापूर्वक समयमै पुल निर्माण गरेकामा सम्मान तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
स्थानीय विकास अधिकारी मदन कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, पूर्व सांसद निर्मला प्रसाईं, राजनीतिक दलका तर्फबाट सोमनाथ बाँस्तोलालगायतले मन्तव्य राख्नुभएको थियो । रासस
No comments:
Post a Comment