काठमाडौँ, ५ पुस । विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरको जानकी मन्दिरमा आयोजित विशेष समारोहमा सहभागी बन्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि मधेसी मोर्चाका कार्यकर्ताद्वारा अमर्यादित हर्कत र लज्जास्पद प्रदर्शन गरिएको भनी नेकपा (एमाले) गम्भीर ध्यानाकर्षण गराएको छ ।
एमालेले आम नेपाली जनतासामु त्यस्तो क्रियाकलापप्रति खुल्लारुपले माफी माग्नसमेत मोर्चा सम्बद्ध व्यक्ति तथा सङ्गठनको ध्यानाकर्षण गराएको छ ।
एमालेका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपतिप्रति गरिएको व्यवहार बर्बर, मध्ययुगीन र असभ्यमात्र नभई अत्यन्त निन्दनीय रहेको उल्लेख छ ।
“यसले आधुनिक नेपाली समाजलाई मात्र कलङ्कित गरेको छैन, राष्ट्रको निर्माण र परिवर्तनको लामो सङ्घर्षमा अभूतपूर्व योगदान गर्ने सिङ्गो महिला समुदायलाई घोर अपमानसमेत गरेको छ”– विज्ञप्तिमा भनिएको छ ।
सो पार्टीले नेपालको सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि सयौँ वर्षदेखि तराई मधेस, पहाड तथा हिमाली भेगका सबै नेपालीको योगदानको स्मरण गर्दै लैङ्गिक विभेदको अन्त्य गरी समतामूलक नेपाली समाजको निर्माणका निम्ति इतिहासका विभिन्न कालखण्डमा नेपाली वीर वीरङ्गनाले खेलेको भूमिका अनुकरणीय रहेको सन्दर्भमा उक्त क्रियाकलापको घोर भत्र्सना गरेको छ । रासस
No comments:
Post a Comment