इटहरी, ५ पुस । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले नेपाली जनताको मागअनुसार जननिर्वाचित सभासद्ले लेखेको संविधानले कसैलाई काखा र पाखा लगाउने नगरेको प्रष्ट पार्नुभएको छ ।
मन्त्री सुब्बाले आज सुनसरी जिल्लाको इटहरीमा आयोजित जनताको संविधान जनताकै माझमा कार्यक्रममा बोल्दै सम्पूर्ण जातजाति, भूगोल र सम्प्रदाय तथा महिला बालबालिका ज्येष्ठ नागरिक सबैका मौलिक हकलाई वर्तमान संविधानले सुनिश्चित गरेको पनि स्पष्ट पार्नु भएको छ ।
नेपाली जनतालाई गुमराहामा राखेर आन्दोलनमा उतारेर गरिएको भ्रमपूर्ण आन्दोलनले कसैको पनि कल्याण नगर्ने बताउँदै उहाँले चित्त नबुझेका विषयलाई संवाद र छलफलबाट नै निकास निकाल्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा सांसद सीताराम मेहताले मधेसमा उत्पन्न वर्तमान समस्याको निकास संंवाद र छलफल एवम् वार्ताबाट मात्र सम्भव हुने किटान गर्नुहँुदै कसैले वार्तामा बस्दिन भन्दैमा वा यहाँ र त्यहाँ बसेर वार्ता गर्छु भन्नु तथा वर्तमान आन्दोलनको औचित्यलाई नै ओझेलमा पार्ने काम भएको टिप्पणी गर्नुभयो ।
अर्का सांसद रेवतीरमण भण्डारीले वर्तमान संविधानले सकेसम्म सम्पूर्ण जातजाति भाषाभाषी लिङ्ग तथा सिमान्तकृत नेपाली जनतालाई समान अधिकार दिएको उल्लेख गर्नुहँुदै नेपालको संविधान विश्वमै उत्कृष्ठ रहेको दाबी गर्नुभयो ।
त्यसैगरी अर्का सांसद कृष्णकुमार राईले पनि वर्तमान संविधान सबै राजनीतिक दलको सहमतिको दस्तावेज भएकाले यसको विरोध गर्नुको औचित्य नरहेको बताउनुभयो ।
जिल्ला विकास समितिका सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा नेता केदार भण्डारी ईन्द्रनारायण साह, प्रेमप्रसाद भट्टराई निर्मल बराल, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनालगायतले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment