Friday, December 25, 2015

भोजपुरमा किराँतीको उधौली सुरु

भोजपुर, १० पुस । पूर्वी पहाडी जिल्ला भोजपुरमा किराँत समुदायको महान् पर्व साकेवा सोकन्वा उधौली २०७२ सुरु भएको छ ।

मङ्सिर पूर्णिमाको अवसरमा हरेक वर्ष ढोलझ्याम्टाका साथ साकेला नाच्दै आएका किराँत समुदायको यो पर्व आज शुक्रबार पूर्णिमादेखि औपचारिक रुपमा प्रारम्भ भएको किराँत राई यायोक्खा नगर समन्वय समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिनुभयो ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याएको खुसियालीमा मनाइने चलन छ । प्रकृतिपूजक किराँत समुदायले भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभरका किराँत समुदाय यो पर्व मनाउँछन् ।

उधौलीको अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोसाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किराँत समुदायका मानिस विभिन्न शैलीमा सोकवा साकेन्वा नाचेर यो पर्व मनाइरहेका छन् । पछिल्लो समयमा युवापुस्तामा साकेला उधौलीको आकर्षण बढ्दै गएको पाइन्छ । आफ्नो वेशभूषामा ढोल, झ्याम्टाका साथ साकेला नाच्दै भोजपुरको अधिकांश गाविसमा पनि यो पर्व मनाइन थालिएको हो ।

यसैबीच, किराँत राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर, धरान, इटहरी गाईघाट, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुलगायत काठमाडौँमा यो पर्व मनाइँदै आएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts