Sunday, December 27, 2015

सहमति नभए संशोधन विधेयक अघि बढ्छ : सभामुख

काठमाडौँ, १२ पुस । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई सबै पक्षको सहमतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

रिपोर्टर्स क्लबले आज संसद् भवन नयाँ बानेश्वरमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सकेसम्म आफूले तराई मधेसमा आन्दोलनरत दलको सहमतिमा नै संशोधन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको भए पनि सहमति हुन नसकेको खण्डमा सैद्धान्तिक छलफल अगाडि बढ्ने बताउनुभयो ।

उहाँले लामो समयसम्म मुलुकलाई अन्योलताको भुँमरीमा राख्न नहुने उल्लेख गर्दै उहाँले संविधान संशोधन प्रक्रिया अगाडि बढ्दा आन्दोलनरत दलको केही माग सम्बोधन हुने स्पष्ट पार्नुभयो ।

दलहरुबीच सहमति होस् भनेर नै आफूले सदनमा सो विषयमा छलफल पर सारेको जानकारी दिँदै सभामुख घर्तीले तत्काल सहमति जुटाउन प्रमुख राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रमुख दलबीच तराई मधेसका विषयमा छलफल जारी रहेपनि सहमति हुन नसक्दा मुलुक अन्योलमा फसेको भन्दै उहाँले सघन छलफल गरेर सहमति जुटाउन र निकास दिन आग्रह गर्नुभयो ।

केही सांसद्ले नाराबाजी गरिरहँदा पनि सदन चलाउनु आफ्नो बाध्यता भएको उल्लेख गर्दै उहाँले विवादित विषयमा सहमति भएको भए आफूलाई पनि सहज हुने धारणा राख्नुभयो । आफूले नियमकानुन, विधि र परम्पराका आधारमा सदनलाई अगाडि बढाएको स्पष्ट पार्दै सभामुख घर्तीले एकपक्षीय भएको भन्ने आरोपमा सत्यता नभएको बताउनुभयो ।

एक प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको पत्र वाचन गरेको उहाँको स्पष्टोक्ति थियो ।

राज्यमन्त्रीमा नियुक्त नै नभएको व्यक्तिको नाम सदनमा वाचन भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा सभामुख घर्तीले भन्नुभयो, “सरकारले उपलब्ध गराएको सूचीअनुसार नै आफूले सदनलाई जानकारी गराएको हो, थप बुझ्नुपरे सरकारसँग नै सोध्नुहोला ।”रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts