काठमाडौँ, ३ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
मन्त्री पाण्डेयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेस गर्नुभएको सम्पत्ति विवरणअनुसार पाल्पा जिल्ला मदनपोखरा गाविस– १ मा घरवाससहितको तीन रोपनी जग्गा चार दाजुभाइको संयुक्त नाममा रहेको उल्लेख छ । सो घरसहितको जग्गा पिताजीबाट पुख्र्यौली रुपमा प्राप्त भएको जनाइएको छ ।
त्यसैगरी मन्त्री पाण्डेयकै नाममा रुपन्देही जिल्लाको बुटवल नगरपालिका– ३ र १० मा १५ धुर जग्गा विसं २०४९ मा पैतृक एवम् सो आर्जनबाट खरिद गरिएको छ । काठमाडाँै महानगरपालिका– ३४ मा सात आना जग्गा विसं २०५० मा पैतृक र सो आर्जनबाट खरिद गरिएको जनाइएको छ ।
छोरा डा. विशाल पाण्डेयको नाममा ललितपुरको कार्यबिनायक नगरपालिका– ४ मा करिब ११ आना जग्गा बैंक ऋण, पैतृक सम्पत्ति र डाक्टरी पेसाबाट प्राप्त स्रोतबाट खरिद गरिएको उल्लेख छ । मन्त्री पाण्डेयसहित चारभाइको संयुक्त नाममा पाल्पाको मदनपोखरामा ४४ रोपनी जग्गा, मन्त्री पाण्डेयको एकल नाममा ललितपुर उपमहानगरपालिका– ३ मा एक रोपनी ११ आना र पत्नी स्व रुक्मिणी पाण्डेयको नाममा रुपन्देही जिल्लाको कोटीहवामा दुई कट्ठा जग्गा छ ।
उहाँसँग ८७ तोला सुन र ११ तोला चाँदी पैतृक रुपमा प्राप्त सम्पत्ति छ । विभिन्न बैंक र सहकारीमा गरी उहाँको नाममा रु १५ लाख ४० हजार नगद छ । विभिन्न बैंक, सहकारी र हाइड्रोपावरमा उहाँको संस्थापक एवम् साधारण सेयर गरी रु ३९ लाख ७० हजार बराबरको खरिद गरिएको मन्त्री पाण्डेयले पेस गर्नुभएको सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री पाण्डेयको नाममा इन्भेष्टमेन्ट बैंक पुल्चोकमा रु ९८ लाखको ओडी ऋण छोराहरुले व्यापारमा लगानी गर्न लिइएको उल्लेख छ । उहाँको े नाममा विसं २०५४ मा सांसद हुँदा सुविधामा खरिद गरेको रु १८ लाखको टोयोटा जिप छ । त्यसैगरी उहाँका छोराहरु डा पाण्डेय र अचलराजको नाममा एक÷एक जिप एवम् कार रहेको विवरणमा जनाइएको छ । रासस
No comments:
Post a Comment