काठमाडौँ, २५ मङ्सिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नाकाबन्दीका कारण निरास नहुन उद्योगी व्यवसायीलाई आह्वान गर्नुभएको छ ।
“अकल्पनीय क्षति भइसक्यो, अब केही दिन धैर्य गरौँ, निरास नहोऔँ” रुपन्देही समाजले उहाँकै सम्मानमा आज यहाँ गरेको कार्यक्रममा अर्थमन्त्रीले भन्नुभयो । लामो समयदेखिको नाकाबन्दी खुल्ने तयारी भइरहेकाले अब निरास हुनु नपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले तराईमा भइरहेको आन्दोलनलाई वार्ता र सहमतिकै माध्यमबाट टुङ्ग्याउने प्रयास अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रमुख तीन दलकाबीचमा साझा धारणा बनिसकेको र मधेसी मोर्चाका नेतासँग विभिन्न चरणमा छलफल भइरहेकाले चाँडै आन्दोलनको अन्त्य हुने अर्थमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले सरकारको समीक्षा गर्ने बेला नभए पनि प्रारम्भिक सङ्केत भने सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । कार्यक्रममा सांसद भरतकुमार शाह, अब्दुल रज्जाक, आदित्यनारायण कसौधन, अधिकारकर्मी दिनेश त्रिपाठीलगायतले राजनीतिक आस्था फरक भए पनि रुपन्देही र लुम्बिनी क्षेत्रको विकासका लागि आफूहरु सबै सधैँ एकै ठाउँमा उभिने अठोट व्यक्त गर्नुभयो ।
लुम्बिनी विकासको माग
कार्यक्रममा अर्थमन्त्रीलाई समाजले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि बाह्रबँुदे ज्ञापनपत्र पनि बुझाएको छ । समाजका अध्यक्ष कुशप्रसाद मल्लीले बुझाएको ज्ञापनपत्रमा बुटवलदेखि पाल्पासम्म, भैरहवादेखि लुम्बिनी हँुदै तिलौराकोटसम्म र बेलहियादेखि बुटवलसम्मको सडकखण्डको विस्तार गर्न माग गरिएको छ ।
त्यसैगरी रुपन्देहीमा स्थापित विशेष आर्थिक क्षेत्रलाई तत्काल कार्यान्वयन गर्न, गौतमबुद्ध विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई दु्रतता दिन, लुम्बिनी, देवदह र तिलौराकोटलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, मर्चवारलगायत पिछडिएका क्षेत्रको विकासका लागि बृहत् योजना बनाई तत्काल लागू गर्न पनि समाजले माग गरेको छ ।
कार्यक्रममा अपाङ्गता भएकाको अधिकारका क्षेत्रमा रुपन्देहीबाट अभियान सुरु गरी राष्ट्रियस्तरमा पुग्नुभएको भन्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष नीलकण्ठ पौडेललाई पनि सम्मान गरिएको थियो । रासस
No comments:
Post a Comment