काठमाडौँ, ५ पुस । पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले सरकारले समस्या समाधानभन्दा चर्को कुरा गरेर जनताको आलोचनाबाट बच्ने रणनीति लिएको टिप्पणी गर्नुभएको छ ।
अनलाइन सङ्घ नेपाल र नेपाल प्रेस युनियनले आयोजना गरेको अनलाइन पत्रकारिता तालिमको आज यहाँ उद्घाटन गर्दै नेता रिजालले सरकारको चर्को गफले जनताले दुःख पाउने दिन लम्बिँदै गएको पनि बताउनुभयो ।
उहाँले प्रधानमन्त्री र सरकारले समस्या समाधानका लागि जति गम्भीरर्यता देखाउनु पर्ने हो त्यति नदेखाएको आरोप लगाउँदै बरु उनीहरुकै कारण समस्या झनझन बल्झिँदै गएको छ भन्नुभयो ।
प्रदेशलाई आधार बनाएर निर्वाचन क्षेत्रको निधारण गर्नु उचित र वैज्ञानिक हुने बताउँदै नेता रिजालले कुनै प्रदेशमा अत्याधिक धेरै निर्वाचन क्षेत्र र कुनै प्रदेशमा अत्याधिक न्यून निर्वाचन क्षेत्र हुनु व्यावहारिक नहुने तर्क गर्नुभयो ।
अनलाइन पत्रकारिता प्रक्रिया र प्रविधिको हिसाबले सजिलो भए पनि तत्काल तत्काल अपडेट गर्नुपर्ने भएकाले त्रुटि हुने जोखिम पनि उत्तिकै हुनेतर्फ उहाँले सचेत गराउनुभयो । अभिव्यक्ति स्वतन्त्रतालाई बलियो र फराकिलो बनाउन पत्रकार नै जिम्मेवार हुनुपर्नेमा नेता रिजालले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, व्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झालगायतले पत्रकारिता जति आकर्षक देखिन्छ त्यतिकै जोखिम पनि भएकाले जिम्मेवार र सचेत भइरहन ध्यानाकर्षण गराउनुभएको थियो ।
पन्ध्र दिनसम्म चल्ने तालिममा अनलाइनको प्राविधिक, नीतिगत, पेसागतलगायतका विविध पक्षमा केन्द्रित रहेर तालिम दिइने युनियनका महासचिव तथा तालिमका प्रशिक्षक अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment