काठमाडौँ, ५ पुस । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले संविधान बनाएबापत भारतले नेपालमाथि जारी राखेको अघोषित नाकाबन्दीका बारेमा विश्व समुदायलाई स्पष्टसँग जानकारी गराएको बताउनुभएको छ ।
विश्व व्यापार सङ्गठनको दशाँै मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नेपालले भोग्नुपरेको मानवीय सङ्कटका बारेमा आफूले विश्व समुदायलाई स्पष्ट पारेको उल्लेख गर्नुभयो ।
उहाँले विश्व व्यापार सङ्गठनको सदस्यको हैसियतले नेपालले स्वतन्त्ररुपमा पारवहन अधिकार पाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै विश्व समुदायको साथ नेपालसँगै रहेको बताउनुभयो ।
पारवहन अधिकार र अन्तर्राष्ट्रिय समुन्द्री कानुनअनुसार भूपरिवेष्टित मुलुकले पाउनुपर्ने सुविधा निर्वाधरुपमा उपलब्ध हुनुपर्नेमा आफूले विश्व समुदायलाई जानकारी गराएको मन्त्री पुनले जानकारी गराउनुभयो ।
मन्त्री पुन केही दिन पहिले विश्व व्यापार सङ्गठनको बैठकमा भाग लिन केन्याको नैरोवी जानुभएको थियो । रासस
No comments:
Post a Comment