साउदी अरब, ३ पुस । रोजगारीको सिलसिलामा दुई महिनाअघि साउदी अरबमा ज्यान गुमाएका पर्वत सलिजा–९ का मानबहादुर पुनमगरको परिवारलाई साउदीका नेपालीले आर्थिक सहयोग गरेका छन् ।
साउदीको जुबेलस्थित रहेको अलअद्वानी कम्पनीमा कार्यरत नेपालीले सबै कामदारबाट आर्थिक सङ्कलन गरी १९ हजार ७५० साउदी रियल अर्थात् रु पाँच लाख ५४ हजार ६३० आर्थिक सहयोग गरेका हुन् । सोही कम्पनीमा कार्यरत झविलाल न्यौपानेले, मानबहादुर पाइजा, तीर्थबहादुर पाइजा र दमबहादुर पाइजाको विशेष सक्रियतामा उक्त सहयोग रकम सङ्कलन गरिएको हो ।
सङ्कलित रकम मगरकी श्रीमती कुलमाया पुनमगरलाई बिहीबार नै सिद्धार्थ रेमिटमार्फत् नेपाल पठाइएको झविलाल न्यौपानेले जानकारी दिनुभयो । पुनमगरको मृत्युपछि उनको परिवारमा आम्दानीको बाटो बन्द भएका कारण लालनपालन तथा उनका नाबालक दुई छोरीको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो बराबरको रकम सङ्कलन गरी पठाइएको न्यौपानेले बताउनुभयो ।
मगरको हृदयघातका कारण दुई महिनाअघि साउदी अरबमा ओछ्यानमै मृत्यु भएको थियो । मगरको परिवारमा वृद्ध बुबाआमा, श्रीमती र दुई छोरी छन् । रासस
No comments:
Post a Comment