काठमाडौँ, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने सरकारको अठोटलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै वर्ग तथा क्षेत्रको सहयोगको जरुरी रहेको बताउनुभएको छ ।
नवीकरणीय ऊर्जा प्रदर्शनी, २०७२ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जलविद्युत् क्षेत्रको विकास लामो र दीर्घकालीन प्रक्रिया भएकाले तत्कालका लागि सौर्य, वायु र जैविक ऊर्जालाई व्यापक प्रयोगमा ल्याउन सरकार लागिपरेको र त्यसमा सबैको साथको आवश्यकता औँल्याउनुभयो ।
दक्षिण एसियामा नै पहिलो पटक विद्युत् उत्पादन गर्ने नेपालमा ऊर्जाको सङ्कट हुनु दुःखद भएको स्मरण गर्दै उहाँले भन्नुभयो– “चन्द्रज्योति नहरबाट विद्युत् उत्पादन भएको १०५ वर्ष पुग्यो, आज नेपालमा कुल ७८५ मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ, अब यस्तो अवस्था लामो समय रहनु हुँदैन, सरकार ऊर्जा क्षेत्रको विकासमा लागेको छ, सबैको साथ चाहियो ।”
विश्वकै दोस्रो ठूलो जलस्रोतमा सम्पन्न मुलुक भए पनि नेपाली सधैँ अन्धकारमा रहनुपर्ने बाध्यताको अन्त्य गर्न सरकार क्रियाशील भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विगतमा भएका गलत संस्कार र इतिहासलाई छाडेर नयाँ ढङ्गले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा क्षेत्रको विकासमा असाधरण क्षमताको उपयोग गर्ने बेला आएको बताउँदै प्रधानमन्त्री ओलीले एक वर्षभित्र विद्युत्भार कटौतीमुक्त मुलुक बनाउने अभियान साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले सौर्य र वायु ऊर्जाको कुरा गर्दा जलस्रोतलाई बिर्सन लागेको हो कि भन्ने आशङ्का गरिएको भन्दै सरकारको ध्यान जलस्रोतमा नै रहेको तर जनतालाई तत्काल राहत दिने विभिन्न विकल्प के हुन सक्छ भन्नेमा मात्रै केन्द्रित रहेको बताउनुभयो ।
अब पालो आर्थिक उन्नति
प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएपछि अधिकारप्राप्तिको आन्दोलत पूरा भएकाले मुलुक अब आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको स्पष्ट पार्नुभयो । हाँले भन्नुभयो– “केही मान्छे अझै पनि क्रान्तिकारी कुरा गरेर अधिकारप्राप्तिको लडाइँ भन्दै लागेका छन्, पाखुरा सुर्कने र आन्दोलन गर्दै हिँड्नु पर्ने अवस्था छैन, संविधानले सबैलाई समान अधिकार र पहिचान दिएको छ ।”
उहाँले आन्दोलनको नाममा मुलुकलाई पछाडि धकेल्ने र सधँै गरिब राख्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै भन्नुभयो– “पछाडि पारिएका क्षेत्रलाई अधिकारसम्पन्न पारिएको छ, कोही कसैलाई विभेद गरिएको छैन, अब नयाँ ढङ्गले मुलुकलाई समृद्ध पार्नुपर्छ, त्यसैमा सबैको कल्याण छ ।”
केही जलविद्युत् आयोजनाका कार्यालयमा आगलागी गरिएको भन्ने आफूले थाहा पाएको भन्दै उहाँले परियोजनाका कार्यालय पोलेर नयाँ नेपाल बन्छ भन्ने मान्यता त्याग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । नेकपा माओवादीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा केही दिन पहिले आगजनी गरेको थियो ।
प्रदर्शनी सुरु
जनसङ्ख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा आजदेखि तीनदिने ‘नवीकरणीय ऊर्जा प्रदर्शनी, २०७२’ सुरु भएको छ । प्रदर्शनीमा रहेका १३७ कक्षमा वैकल्पिक ऊर्जाका विभिन्न विकल्पका बारेमा जानकारी दिनेदेखि बिक्री वितरणको समेत व्यवस्था मिलाइएको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिनुभयो ।
सो अवसरमा वातावरणमन्त्री विश्वेन्द्र पासवानले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतको उपयोग गरेर आगामी पाँच महिना भित्रै ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले सरकारले अगाडि सारेको एक वर्षभित्र विद्युत्भार कटौतीमुक्त गर्ने अभियानलाई साकार पार्न मन्त्रालय र मातहतका निकाय प्रतिबद्ध भएर लागिसकेको जानकारी दिनुभयो ।
प्रदर्शनीमा सौर्य ऊर्जा प्रणाली जडान गर्न चाहनेका लागि बैंकबाट ऋण लिन सक्ने व्यवस्थासमेत उपलब्ध गराइएको छ । एनएमी, सिभिल र नेपाल इन्भेस्टमेन्ट बैंकले सुलभ ब्याजदरमा सौर्य ऊर्जा प्रणाली जडान गर्न ऋण दिने सम्झौता यसअघि नै केन्द्रसँग गरिसकेका छन् । रासस
No comments:
Post a Comment