भीमदत्तनगर, १४ माघ । जुम्लाको सिँजाका विष्णुप्रसाद काफ्ले साढे चार महिनादेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१ भाँसीस्थित एक स्थानीयको घरमा डेरा गरी बस्दै आएका छन् ।
कञ्चनपुरका बजारदेखि बस्तीसम्म दैनिक २०÷२५ किलोमिटर पैदल हिँड्दै पिठ्यूँमा रहेको सामानको भारीलाई बिक्री गर्न स्थानीयवासीको घरदैलो चहार्नु ४५ वर्षीय विष्णुको दैनिकी बनेको छ । जुम्लाको पाण्डगुफा गाविस–८ सिँजाका काफ्लेले १३ वर्षको उमेरदेखि फेरीको व्यापार गरिरहेको राससलाई बताउनुभयो ।
करिब तीन दशकभन्दा बढी समय जुम्लाका काफ्ले काठमाडौँबाट गलैँचा, राडीपाखी, तन्ना, कम्बललगायतका न्यानो मौसममा उपगोग गरिने सामान बिक्री गर्दै आफ्नो गुजारा गरिरहनुभएको छ । “बुबा पनि पिठ्यूँमा सामानको भारी लिएर गाउँ बस्तीसम्म पुगेर बिक्री गर्नुहुन्थ्यो” उहाँले भन्नुभयो । फेरीको व्यापारबाटै कैलालीको टीकापुरमा डेढ बिघा जमिन खरिद गरेको काफ्ले बताउनुहुन्छ । पछिल्ला वर्षमा फेरीवाला व्यापारी धेरै, ग्राहक कम भएकाले व्यापार खस्कदै गएको छ ।
वर्षमा १० महिना सुदूरपश्चिमको कञ्चनपुरका साथै दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायतका जिल्लामा पैदल हिँडेरै व्यापार गर्ने काफ्लेले हरेक जाडो मौसममा आफूनो समूहले करिब रु ३० लाख बराबरको कारोबार गर्ने गरेको बताउनुभयो । “कञ्चनपुरमा हामी जुम्लाकै छजना मिलेर बसेका छौँ” उहाँले भन्नुभयो– “कात्तिकदेखि फागुनसम्म प्रतिव्यक्तिले रु एक लाखसम्म नाफा कमाउँछौँ ।” उहाँ दार्चुलाबाट व्यापार गरेर भर्खर कञ्चनपुर झर्नुभएको हो । दार्चुलामा रु ५० हजार फाइदा भएको उहाँको भनाइ छ ।
“काठमाडौँ गएर सामान खरिद गर्न साहुहरुसित राम्रै चिनजान गर्नुपर्र्छ” काफ्लेले भन्नुभयो– “त्यसपछि हामी जहाँ भए पनि साहुले मागअनुसारको सामान पठाइदिन्छन्् ।” सहोदर साला विष्णुप्रसाद सन्ज्याललाई समेत फेरीको व्यापारका लागि कञ्चनपुर बोलाउनुु भएको छ । “सुरुमा त हिँड्दा निकै समस्या हुन्थ्यो, अहिले बानी नै परियो” सन्ज्यालले भन्नुभयो । बिहिबार कपडा बिक्रीका लागि भीमदत्तनगरपालिका–१८ गोवरैया जाँदै गरेका काफ्ले र सन्ज्यालले आफुहरु दुई महिना मात्र घरमा बस्ने गरेको बताए ।
“यही व्यापारबाट तीन छोरी र एक छोराको पढाइलेखाइ गराउँदैछु” सन्ज्यालले भन्नुभयो । फेरीकै व्यापारले डेढ बिघा जग्गासमेत उहाँले जोड्नुभएको छ । सुरुमा उनीहरु फेरीको व्यापार गर्न भारतका विभिन्न सहरसम्म पुग्ने गरेका थिए । उनीहरुसंगै कालिकोट, दैलेखका स्थानीय पनि यो व्यापारमा सहभागि भएका छन् ।
“विदेशको नोकरीभन्दा यही व्यापार ठिक छ” अर्का फेरी व्यापारी विष्णुप्रसाद सन्ज्यालले भन्नुभयो । लामो समयदेखि फेरीको व्यापार गर्दै आउनुभएका काफ्लेले गाम्रीण भेगभन्दा सहरी क्षेत्रमा व्यापार बढी हुने गरेको अनुभव सुनाउनुभयो । “दश महिनामा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ” उहाँले भन्नुभयो । फागुनपछि दुई महिना घरमा आराम गर्ने र त्यसपछि पहाडी जिल्लामा व्यापार थाल्ने उनीहरुको योजना छ । काफ्लेको समूहले कुनै दिन त दैनिक रु ३०÷३५ हजारसम्मको कारोबार गर्ने गरेको छ । तर समग्रमा विगत वर्षको भन्दा फेरीको व्यापार ओरालो लाग्दै गएको छ ।
“भारतमा भएर पनि मैले एक महिनामै ४५ हजार भारतीय रुपैयाँ नाफा हुनेगरी व्यापार गरेको छु” काफ्लेले भन्नुभयो । पछिल्लो समयमा उनीहरुको व्यापार सुदूरपश्चिमकै सेरोफेरोमा केन्द्रित छ । मासिक रु छ हजार भाडा तिरेर कञ्चनपुरमा व्यापार गर्दै आएका उनीहरुले यहाँको दैजी, झलारी, भीमदत्तनगरका विभिन्न वडा, बेलौरी, पुनर्वास, सुडा, सिसैयालगायतका सबै क्षेत्र चहारिसकेका छन् । “दार्चुलामा यस वर्ष यार्सागुम्बाको बिक्री नभएकाले व्यापार खासै राम्रो भएन” काफ्ले भन्नुभयो । शेरबहादुर सिंह/रासस
No comments:
Post a Comment