Sunday, January 3, 2016

प्रभावकारी उपस्थिति देखाउन सरकारसँग नेपालको आग्रह

चौतारा, १९ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विनाशकारी भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप र मानव सिर्जित नाकाबन्दीबाट पीडित नेपाली जनता दुवै सङ्कटबाट मुक्त हुन चाहेको बताउनुभएको छ ।

वरिष्ठ नेता नेपालले प्रेस चौतारी सिन्धुपाल्चोक शाखाद्वारा चौतारामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लोकतन्त्रको मूल्यमान्यता र जनताको फैसलालाई स्वीकार नगरी गरिएको तराई आन्दोलनले आर्थिक सङ्कट र सामाजिक संरचना अस्तव्यस्त भएको बताउनुभयो ।

मधेस केन्द्रित समस्यालाई सम्बोधन गर्ने क्रममा सहमतिको खोजीमा अघि बढिरहेको स्पष्ट पार्दै नेता नेपालले तर सहमतिको नाममा राष्ट्रको स्वतन्त्रता र स्वाभिमानलाई आँचपुग्ने कुनै पनि काम नगरिनेमा जोड दिनुभयो ।

भारतीय नाकाबन्दी र दशगजा क्षेत्रमा आन्दोलनकारी धर्नामा बसेका कारण इन्धन सङ्कट परेको उल्लेख गर्दै नेता नेपालले चीनसँग नयाँ नाका खोल्ने प्रयास भइरहेकोमा तुलनात्मकरुपमा तातोपानी नाका सुगम तथा सरल भएको हुँदा उच्चतम प्राथमिकता दिई काम गर्न सरकारसँग आग्रह गर्नुभयो ।

भूकम्पपीडितको पुनःनिर्माणको काम धेरै ढिला भइसकेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले जनताले परिणाममुखी कामको अपेक्षा राखेकाले सरकारलाई प्रभावकारी उपस्थिति देखाउन आग्रहसमेत गर्नुभयो ।

मन्त्रालय फुटाएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता नेपालले समानुपातिक निर्वाचन प्रणाली खोटपूर्ण भएकै कारण एक जनामात्र सांसद भएका पार्टीका व्यक्तिलाई पनि मन्त्री बनाउन पर्ने बाध्यता रहेको स्पष्ट पार्दै निर्वाचनमा थे्रसहोल्ड राख्नै पर्ने जिकिर गर्नुभयो ।

नेता नेपालले आजै सदरमुकाम चौतारास्थित श्रीकृष्ण रत्नगङ्गा उच्च मावि को ६९औँ वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलवीरसिंह खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा (एमाले) अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पनि शिक्षाको बारेमा प्रकाश पार्नुभएको थियो ।

विसं २००४ मा स्थापित उक्त विद्यालयमा नेता बोहोराले २०२६ सालमा अध्ययन गर्नुभएको थियो । सो अवसरमा हास्य कलाकार जीतु नेपालले विभिन्न हास्यव्यङ्ग कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts