कास्की, १९ पुस । स्वास्थ्य मन्त्री रामजनम चौधरीले आज पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको निरीक्षण गर्नुभएको छ ।
उहाँले अस्पतालका सबैजसो वार्ड र सेवाको पनि निरीक्षण गर्नुभएको र निरीक्षणका क्रममा अस्पतालमा उपचाररत बिरामीसँग अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारको विषयमा जानकारी लिनुभएको थियो ।
मन्त्री चौधरीले बिरामी तथा कुरुवालाई भेटी सेवाका बारेमा सोध्दा सेवा ठिकै लागेको बताएका थिए । अस्पताल निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले जनतालाई सुविधा दिने गरी काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री चौधरीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि पैसाको अभाव नहुने बताउनुभयो ।
प्रतिष्ठानको पूर्वतयारीका लागि रु ५० लाख पठाएको बताउँदै उहाँले रकम खर्च गरेपछि पैसाको अभाव भए तेब्बर बढाएर दिने विश्वास दिलाउनुभयो ।
उहाँले अस्पतालमा औषधि र उपकरणको अभाव हुन नदिन पनि निर्देशन दिनुभयो । अस्पताललाई कागजीरुपमा मात्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नहुने भन्दै अस्पतालको भौतिक पूर्वाधार हेर्नका लागि आफू आएको स्पष्ट पार्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक तारा पौडेलले स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उकास्ने गरी कार्यक्रम ल्याउन मन्त्रीलाई अनुरोध गर्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठले अस्पतालको भौतिक पूर्वाधार मर्मत र उपकरणका लागि ठूलै रकम आवश्यक परेको बताउनुभयो । रासस
No comments:
Post a Comment