इटहरी, १६ माघ । पूर्वी नेपालका साना कुखुरा उत्पादक किसान सङ्गठित भएर आफ्नो व्यवसायमा शुद्धताका लागि आवाज उठाउन थालेका छन् ।
अवैध रुपमा भारतबाट आयात गरिने गुणस्तरहीन चल्ला तथा दानाका कारण हैरानी र नोक्सानीमा पर्दै आएका साना कुखुरा उत्पादक किसान शुद्ध र गुणस्तरीय कुखुराका लागि सङ्गठित हुन थालेका हुन ।
सुनसरी, मोरङ र झापा जिल्लामा कम्तीमा १०० देखि २०० कुखुरापालेर आफ्नो घर व्यवसाय चलाउँदै आएका किसानलाई सङ्गठित पार्नका लागि पूर्वेली कुखुरा उत्पादक व्यवसायी सङ्घको ब्यानरमा उनीहरु सङ्गठित हुन थालेको त्यसका केन्द्रीय अध्यक्ष पुष्प प्याकुरेलले जानकारी दिनुभयो ।
सङ्घका केन्द्रीय अध्यक्ष प्याकुरेलकाअनुसार भारतबाट अवैध रुपमा आयात हुने र नेपालकै ह्याचरीले त्यस्तो चल्ला आयातमा सघाउ पु¥याई साना कुखुरा व्यवसायीलाई ठगी गर्ने कार्य भइरहेकाले त्यस्तो ठगी हुनबाट सचेत गराउनका लागि किसानलाई सङ्गठित पार्ने कार्य तीव्र पारिएको हो ।
यसै क्रममा सुनसरीको भरौलमा टीका राउतको अध्यक्षतामा ३० सदस्यीय साना कुखुरा उत्पादक व्यवसायी सङ्घ गठन भएको छ । सुनसरीकै प्रकाशपुरमा मैया थापाको अध्यक्षतामा तथा बकलौरीमा दिवाकर राजधामीको अध्यक्षतामा र खनारमा बिना थापाको अध्यक्षतामा सङ्घ गठन गरिसकिएको छ ।
सङ्घले राज्यबाट साना कुखुरा उत्पादक किसानलाई दिने भनिएको अनुदान लक्षित किसानसम्म नआएर ठूला उद्योगी र व्यवसायीलाई उपलब्ध गराउँदै आएकोमा पनि आपत्ति जनाउँदै त्यो अनुदान लक्षित साना किसानसम्म ल्याउन सरकार समक्ष माग गरेको छ । रासस
No comments:
Post a Comment