Wednesday, January 20, 2016

भारत र चीनसँगको सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड

काठमाडौँ, ६ माघ । सार्वभौमिकता, एकता र राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्दै चीन र भारतसँगको मैत्री तथा आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिनुभएको छ ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आयोजना गरेको ‘संविधान घोषणापछि भारतीय नाकाबन्दी र नेपालको आर्थिक विकास’ विषयको अन्तरक्रियामा उहाँहरुले चीन र भारत दुबै मुलुकसँगको सबै नाका खोलेर व्यापार सम्बन्ध बढाउनुपर्ने तथा नेपालले स्वावलम्बी अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले नेपालमा हजारौँ वर्षदेखि बसोबास गर्दै आएका नेपाली नागरिकले नागरिकता नपाउने स्थिति अन्त्य हुनुपर्ने बताउँदै एकजना पनि मधेसीले नागरिकताबाट वञ्चित हुन नहुने तर एकजना विदेशी पनि नेपाल घुस्ने अवस्था सिर्जना हुन नहुनेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री तथा महिला बालबालिकामन्त्री चन्द्रप्रकाश मैनालीले हालै जारी भएको नयाँ संविधान अहिलेसम्मकै प्रगतिशील संविधान भएको भएपनि संविधानमा थप्नुपर्ने तथा घटाउनुपर्ने प्रशस्त बुँदा भएकाले संविधान संशोधनमार्फत त्यस्ता कुराको टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

उहाँले भारतीय नाकामा अवरोध भएको मौका छोपी व्यापकता पाएको कालोबजारी तथा मुनाफाखोरीले वैधानिकता पाएजस्तो देखिएको स्वीकार्दै जनअपेक्षाअनुसार उनीहरुलाई नियन्त्रण गर्न सरकार असफल भएको बताउनुभयो ।

रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालको आर्थिक विकासका लागि चीनसँग पनि दीर्घकालीन वित्तीय सम्झौता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै भारतले नाकाबन्दी गरेपछि मात्र चीनलाई गुहार्ने पुरानो मनोवृत्ति सरकारमा बस्नेले त्याग्नुपर्ने बताउनुुभयो ।

नेकपा (एमाले)का नेता रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बन्दैन भने प्रधानमन्त्रीको चीन भ्रमणको वातावरण तयार गर्नेतर्फ सरकार लाग्नुपर्ने तथा प्रधानमन्त्रीले चीनको भ्रमण पहिले गर्ने परम्परा बसाल्दैमा आकासै नखस्ने बताउनुभयो ।

उहाँले नेपालमा भारत विरोधी भावना वृद्धि हुनुको मुख्य कारण भारत आफैँ भएको दाबी गर्नुभयो ।

मोर्चाका वरिष्ठ युवा नेता छवि पन्थीले नेताहरु जनभावनाअनुसार नचलेको कारण देशको परिस्थिति जटिल बनेको बताउनुभयो ।

सभापतिको आसनबाट मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालले विभिन्न सन्धिबाट गुमेको नेपाली भूभाग फिर्ता गर्ने काममा वर्तमान सरकार गम्भीर नभएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts