Thursday, January 21, 2016

पूर्व प्रधानमन्त्रीको नाम नहटाउन आग्रह

काठमाडौँ, ७ माघ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका रामकृष्ण यादवले देश, प्रजातन्त्र र जनताका लागि आजीवन सङ्घर्ष गर्नुभएका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानलाई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानमात्र लेख्ने वर्तमान सरकारको निर्णयप्रति असहमति जनाउनुभयो ।

उहाँले सुशील कोइराला नेतृत्वको सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्ट्याएको खबर सत्य हो भने त्यो आफूलाई मान्य नहुने भन्दै दलगत आधारमा निर्णय गर्न नहुने बताउनुभयो । विकास–निर्माणका काम दलगत आधारमा गर्दा राष्ट्रको उन्नति नहुने तर्क गर्दै उहाँले प्रतिष्ठानबाट कृष्णप्रसाद भट्टराईको नाम हटाउने निर्णय सच्च्याउन माग गर्नुभयो ।

नेकपा (एमाले) का भरतबहादुर साउद मधेसवादी दलको आन्दोलनका कारण इन्धनको कालोबजारी बढेको, तराईमा दुई प्रदेश हुनुहुँदैन भन्दै विकासबाट पिछडिएका जिल्लामा स्वास्थ्य सेवा नपुगेको, उपकरण र एम्बुलेन्सको अभाव रहेकाले आधारभूत स्वास्थ्य सेवा जनतासम्म पु¥याउन वर्तमान सरकार गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।

एनेकपा (माओवादी) का दलजीत बिके श्रीपालीले बहिर्गमनमा परेका तत्कालीन नेकपा (माओवादी) सेनाका लडाकालाई परिचयपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले भारतको अघोषित नाकाबन्दीबारे आफ्नो दलले सदनमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएकोमा विरोध गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले पेट्रोल, डिजेल र मट्टितेलको पर्याप्त भण्डारण भएपनि जनताले सहजरुपमा प्राप्त गर्न नसकेकोमा आपूर्तिको सहज व्यवस्थाका लागि माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts