भक्तपुर, १२ माघ । जिल्ला वन कार्यालयले अनुमति बिना वन फँडानी गरेर सडक निर्माण गर्न रोक्का गरेको छ ।
अनुमति बिना वन फँडानी गरेर सडक निर्माण गर्ने क्रम बढेपछि कार्यालयले वन फँडानी गरेर जथाभाबी सडक निर्माण गर्न रोक लगाएको हो । जिल्ल बन अधिकृत सूर्यकान्त सिग्देलका अनुसार विकासका नाममा जथाभाबी सडक बनाउने गरेको र सडक दायाँबायाँ टहरा एवम् भौतिक संरचना निर्माण गरेर व्यापार गर्न थालेपछि सडक निर्माण गर्न रोक लगाएको हो ।
जिविसअन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजनाले जिल्लाको मुहान पोखरीबाट खावा जोड्ने सडक निर्माण सुरु हुन लागेपनि उक्त सडक निर्माण रोकिएको छ । कुल रु १३ करोडको लागतमा निर्माण सुरु हुन लागेको उक्त सडक नेपाल सरकारसँग अनुमति नै नलिई निर्माण हुन लागेपछि निर्माण रोक्का गरेको हो ।
स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले उक्त सडक निर्माणका लागि वन विभागसँग स्वीकृति लिनका लागि पहल भइरहेको बताउनुभयो । सूर्यविनायक नगरपालिका गुण्डु घ्याम्पे डाडाँमा जाने सडक पनि बिना अनुमति विस्तार गर्न लागेपछि सडक विस्तार रोकिएको छ । सूर्यविनायक नगरपालिकास्थित पाइलट बाबा आश्रम जाने सडक विस्तार सकिए पनि सडक वनकै नाममा हुँदा समस्या सिर्जना भएको बताउनुभयो ।
सडक कार्यालय, जिल्ला विकास समिति, सांसद कोषलगायतको बजेटले नयाँ सडकको ट्र्याक खोल्ने, सडक विस्तार गर्ने, सडक निर्माण गर्ने गरेपनि नियमानुसार सरकारसँग अनुमति लिने र आफ्नो नाममा सडक नल्याई सडक विस्तार गर्दा सडक वन कै नाममा रहँदा समस्या आएको सिग्देलले बताउनुभयो ।
जिविस वा सडक डिभिजन कार्यालयले वनभित्रबाट सडक निर्माण गर्दा सरकारसँग स्वीकृति लिएर सडक निर्माण गर्नु पर्ने नियम मिचिदा वन कार्यालयलाई समस्या परेको हो । यसरी जथाभाबी सडक निर्माण गर्दा सडकको दायाँबायाँको १२ मिटरसम्मको भाग सडककै हुने भएकाले ती क्षेत्रमा वन फडानी हुने, घर टहरा निर्माण हुनाले वन कार्यालयलाई कारबाही गर्नसमेत समस्या परेको प्रमुख सिग्देलको भनाइ छ ।
भक्तपुरबाट नगरकोट जाने सडक, पाइलट बाबा आश्रम जाने सडकलगायत बिनाअनुमति बनेका सडकको दायाँबायाँ रहेको अवैधानिक संरचना सडक विभागले भत्काउनुपर्ने उहाँको भनाइ छ । रासस
––––––
No comments:
Post a Comment