काठमाडौँ, २१ पुस । जर्मनीका कलाकार कार्ल कुफेल आर्थिक रुपमा कमजोर बालबालिकालाई चित्रकला सिकाउन नेपाल आइपुगेका छन् ।
जर्मन ह्युमनिटरियन इनिसियटिभ फर साउथ एसिया (साथी) संस्थाको सहयोगमा लीला–राधिका ह्युमनिटरियन इनिसियटिभ फर सिनियर सिटिजन सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उनले नेपालमा चार दिन बिताउने छन् ।
आज यहाँ आयोजित कार्यक्रममा उक्त संस्थाका अध्यक्ष डा धर्मराज भुसालले यस कार्यशालामा बालबालिकाले बनाएका चित्रकलालाई जर्मनीमा प्रदर्शनी गरिने र उक्त चित्रकला बिक्रीबाट आएको रकम उनीहरुलाई नै प्रदान गरिने जानकारी दिनुभयो ।
‘डोर टु द फ्यूचर फर चिल्ड्रेन’ अभियानअन्तर्गत नेपालमा गरिने उक्त कार्यक्रमपछि सोही प्रकृतिको कार्यक्रम अफगानिस्तानमा गरिने कलाकार कूफेलले जानकारी दिनुभयो ।
भिन्न संस्कृतिका बालबालिकाको मानसिकतालाई चित्रमा उतारेर उनीहरुको सोच बुझ्ने र सोहीअनुसार आफूले सिकाउने उहाँले बताउनुभयो ।
कार्यशालामा दाङ, बाजुरा, नवलपरासी, सिरहा, सिन्धुली, पाल्पा, मकवानपुर र काठमाडौँका सात बालबालिकालाई सहभागी गराइने छ । रासस
No comments:
Post a Comment