चौतारा, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदले अनुशासन र आत्मबल बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाललाइ चिनाउने काम गरेकाले युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
विश्व तेक्वान्दो महासङ्घको तत्वाबधानमा नेपाल तेक्वान्दो सङ्घ तथा सिन्धुपाल्चोक तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भूकम्पपीडित तेक्वान्दो खेलाडी बालबालिकालाई सहयोग र विभिन्न प्रशिक्षण तथा तालिमको आज सिन्धुपाल्चोकको खाडीचौरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भारतको नाकाबन्दीले देश आक्रान्त भएको जटिल परिस्थितिमा पनि खेलको आयोजना गरी राम्रो काम गरेको उल्लेख गर्दै विश्व तेक्वान्दो खेल मञ्चमा पदक जित्न सफल हुनेगरी सिन्धुपाल्चोकबाट खेलाडी उत्पादन हुनुपर्ने बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारतीय नाकाबन्दी र विनाशकारी भूकम्पलगायतका कारणले देश बन्दीगृहका रुपमा रहेको अवस्थामा पनि खेलकुदको आयोजना गरी सिन्धुवासीको चह¥याइरहेको घाउमा मल्हम लगाउने काम भएको बताउनुभयो ।
देशमा ६५ हजार तेक्वान्दो खेलाडी रहेको चर्चा गर्दै मन्त्री मण्डलले राष्ट्रिय एकतामा बल पुग्ने हुँदा तेक्वान्दो खेललाई राष्ट्रिय खेलका रुपमा विकास गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सांसद मोहनबहादुर बस्नेतले खेलकुदको महत्वका बारेमा चर्चा गर्नुभएको थियो ।
सो अवसरमा विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष डा चु वाङ चोले रु १० लाखको चेक, रु तीन लाख मूल्य बराबरको ट्र्याकसुट, २३० थान तेक्वान्दो पोसाक र तीन बाकस तेक्वान्दो उपकरण सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष बुद्धराज बस्नेतलाई हस्तान्तरण गर्नुभयो ।
सोही समारोहमा विश्व तेक्वान्दो महासङ्घका अध्यक्ष डा चु वाङ चो, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा र सिन्धुपाल्चोक तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष कृष्ण क्षत्रीलाई उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment