काठमाडौँ, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दीको समस्या कूटनीतिक पहलका माध्यमबाट हल हुने र तराईमा जारी समस्या पनि वार्ताका माध्यमबाट समाधान हुने चरणमा रहेको बताउनुभएको छ ।
नेकपा(एमाले) केन्द्रीय लेखा परीक्षण आयोगको चौथो बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्बोधन गर्दै उहाँले कुनै पनि समस्याको समाधान गर्दा सरकारले राष्ट्रिय हित, स्वाभिमान र सामाजिक सद्भावलाई कमजोर हुन दिने छैन भन्नुभयो ।
उहाँले कानुनी र संरचनागत व्यवधानका कारण ढिला हुन पुगेको भूकम्पपछिको पुनःनिर्माण अब तीव्र गतिमा अगाडि बढ्ने विश्वास दिलाउँदै भन्नुभयो– “मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्न, दु्रतगतिमा पूर्वाधार निर्माणलाई अगाडि बढाउन, आर्थिक विकासलाई नयाँ गति दिन र परनिर्भरताको वर्तमान अवस्थालाई अन्त्य गर्दै मुलुकलाई आत्मर्निभर बनाउन सरकार ठोस कार्ययोजनाका साथ अगाडि बढिरहेको छ ।”
आयोगका अध्यक्ष डा पुष्पराज कँडेलेको अध्यक्षतामा भएको सो बैठकमा एमाले अध्यक्ष ओलीले सबै पार्टी कमिटी र जनसङ्गठनको नियमित लेखा परीक्षण गर्न, पार्टीमा आर्थिक अनुशासन कायम गर्न र नेता–कार्यकर्ताको आर्थिक जीवन स्वच्छ एवम् पारदर्शी बनाउन गर्नुपर्ने कामका बारेमा ठोस सुझाव दिनसमेत आयोगलाई आग्रह गर्नुभयो । रासस
No comments:
Post a Comment