काठमाडौँ, २० पुस । तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता एवम् वार्ता टोलीका सदस्य रामनरेश रायले मोर्चामा चार पार्टी रहेकाले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो– “सरकारले मागेजस्तो एक जनाको मात्र नाम पठाउँदैनौँ । मोर्चामा छलफल गरी आज राति वा मङ्गलबार ११ बजेसम्म निर्णय गरी नाम पठाउने कि नपठाउने भन्ने विषयमा मोर्चाले निर्णय लिन्छ ।”
उहाँले सरकार वार्ताबाट भाग्न खोजेको आरोप लगाउँदै मोर्चा वार्ताको पक्षमा छ भन्ने सन्देश दिन सरकारले जहाँ वार्ताका लागि बोलाउँछ त्यहाँ वार्तामा बस्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै नाका आन्दोलन पनि जारी रहने स्पष्ट पार्नुभयो ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको अनुभव र आचारसंहिताअनुसार नै आफ्नो पार्टीले अलग आन्दोलन गरेको बताउँदैै यसको कारण मोर्चा नफुट्ने दाबी गर्नुभयो ।
उहाँले राजेन्द्र महतोमाथि भएको आक्रमणमा राज्यले माफी नमागेसम्म आफूहरु कुनै पनि वार्तामा सहभागी नहुने स्पष्ट पार्नुभयो । रासस
No comments:
Post a Comment