काठमाडौँ, ५ माघ । नेपाली काँग्रेसको स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन सामग्री माघ १० गतेभित्र सबै जिल्लामा पठाइने भएको छ ।
यही माघ १५ गतेदेखि हुने स्थानीयस्तरका अधिवेशनका लागि आवश्यक निर्वाचन सामग्री तयार पार्ने काम भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका संयोजक राधेश्याम अधिकारीले हरेक जिल्लामा निर्वाचन अधिकृतसँगै निर्वाचित भएपछि दिने प्रमाणपत्र, निर्वाचन निर्देशिका, पार्टीको विधान, नियमावली, क्रियाशील सदस्यको नामावलीलगायतका सामग्री पठाइने जानकारी दिनुभयो । उहाँले केन्द्रबाट जिल्लामा पठाउने र जिल्लाले गाउँ तथा नगर र क्षेत्रमा पठाउने पनि बताउनुभयो ।
जिल्लामा पठाउनु पर्ने निर्वाचन सामग्री छपाउने, सङ्कलन गर्ने ती सामग्री कुन जिल्लामा कति आवश्यक पर्छ भन्ने लेखाजोखा गर्ने काम भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन निर्देशिका र प्रमाणपत्र अझै केही छाप्न बाँकी रहेको छ ।
देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँका लागि निर्वाचन सामग्री पठाउनुपर्ने सचिव शर्माले बताउनुभयो ।
गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुने भएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ । रासस
No comments:
Post a Comment