काठमाडौं, १६ माघ । परम्परागत कलाको संरक्षण गरेमात्र देशको धार्मिक परम्परा, संस्कार, संस्कृति तथा ऐतिहासिक धरोहरको संरक्षण हुने विभिन्न कलासम्बद्ध विज्ञले बताउनुभएको छ ।
सुमेरु कलाग्रामद्वारा आज यहाँ आयोजित ‘नेपाली परम्परागत कलाः हाम्रो दायित्व र भूमिका विषयक अन्तक्र्रियामा सहभागी कला विज्ञहरुले परम्परागत कलाको संरक्षण गर्न सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपालमै उत्कृष्ट कला सङ्ग्रहालय र अवलोकन स्थल बनाउन सके नेपाली कलाले स्वदेशमै प्रश्रय पाउने तर्क गर्नुभयो । साथै, उहाँले कला र कलाकारितालाई पाठ्यक्रममा समेट्न ढिला भइसकेको बताउनुभयो ।
ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कलाकारलाई वर्गीकरण गर्ने र पम्परागत कलाकारको सही पहिचान र व्यवस्थापनका लागि आचारसंहिता निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ पौभा कलाकार लोक चित्रकारले परम्परागत कलालाई लोप हुनबाट जोगाउनु नै अहिलेको चुनौती रहेको बताउनुभयो ।
कलाग्रामका अध्यक्ष राजकुमार शाक्यले कलाकारमा विषयगत दक्षतासँगै इन्जिनियरिङ, व्यवस्थापन, प्रविधिलगायतका ज्ञान हुनुपर्नेमा जोड दिनुभयो ।
चीन, जर्मनीलगायतका देशमा ‘नेपाल पेभिलियन’ बनाउने कलाकार अमृत शाक्यले नेपाली परम्परागत कलालाई भावी पुस्तासम्म पु¥याउन सिकाइलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यलगायतले आगामी दिनमा कुनै पनि कलाकारको सिर्जना ‘रोयल्टी’ तिरेर मात्र मुद्रण वा प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment