रामेछाप, १९ पुस । पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले नेपाली काँग्रेस वर्तमान सरकार हटाउने पक्षमा नरहेको बताउनुभएको छ ।
सो कुरा उहाँले नेपाली काँग्रेस रामेछापले मन्थलीमा आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको अवसरमा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै रिजालले वर्तमान सरकारले मधेस आन्दोलनको बैठान र भूकम्पपीडितलाई दिनुपर्ने राहतजस्ता राष्ट्रियस्तरका मुद्दामा निस्क्रियता देखाउँदै सत्ताको छिनाझपटीमा मात्र समय बर्बाद गरिरहेको भन्दै उसले आफ्नो कार्यशैलीलाई तत्काल सुधार गर्न भने आवश्यक रहेको बताउनु भएको छ ।
आफ्नै पार्टीको महाधिवेशनमा व्यस्त रहेको काँग्रेसले यतिबेला सत्ता बनाउने र भत्काउने होडमा लाग्नु ठीक नभएको भन्दै तत्काल वर्तमान सरकारको विकल्प खोज्नु ठीक नहुने बरु सबै नेता तथा कार्यकर्ता आगामी फागुनमा सम्पन्न हुने महाधिवेशनको तयारीमा लाग्नुपर्ने पनि बताउनुभयो ।
पछिल्लो समयमा काँग्रेसका नेता तथा कार्यकर्तामा काम गर्ने तौरतरिका नपुग्दा कतिपय सवालमा सिर्जित अप्ठ्यारालाई आगामी महाधिवेशनले मेटाउने भन्दै काम गर्ने परिपाटीमा विकास गर्न पनि उहाँले सुझाव दिनुभयो ।
नेपालको संविधान विश्वकै इतिहासमा सुन्दर र समावेशी संविधान रहेको भन्दै यस संविधानलाई सरकार र सबै राजनीतिक दलको सहयोगमा व्यवहारमा उतार्नेतर्फ लाग्नुपर्ने पनि रिजालले बताउनुभयो ।
अहिलेको संविधानलाई सत्तोसराप गर्ने सच्चा राष्ट्रवादी हुन नसक्ने भन्दै यसको गहिराइमा पुगेर अध्ययन गर्न मधेसी दललगायत असन्तुष्ट पक्षका नेतालाई सुझाव पनि उहाँले दिनुभयो ।
काँग्रेसका जिल्ला सभापति रामकृष्ण खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय प्रशिक्षक महेश दाहाल र विश्वमणि न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रमको उद््घाटन र समापन कार्यक्रममा काँग्रेस जिल्ला सभापति खड्का, पूर्व कृषि सहायक मन्त्री रामहरि ढुङ्गेललगायत जिल्लास्थित विभिन्न भ्रातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधि र जिल्ला नेताले समेत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा जिल्लाका सबै गाविसबाट आएका करिब २०० जना अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । रासस
No comments:
Post a Comment