भैरहवा, १९ पुस । नेपाल सरकारका मन्त्री दीपक बोहराले सरकारप्रति जनविश्वास बढ्दै गएको जनाउनु भएको छ ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रम तथा रोजगार र वाणिज्य मन्त्री बोहराले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार भएको जनाउँदै भन्नुभयो “यो सरकारले जे बोलेको छ त्यही गरेको छ । हामीले आन्दोलनरत दललाई वार्तामा बोलाएका छौँ । जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणलगायतमा आन्दोलनरत दलसँगको वार्तामा जोड दिएका छौँ ।”
मन्त्री बोहराले वर्तमान सरकार असाधारण स्थितिमा निर्माण भएको भए तापनि यसले धेरै काम गरेकाले यसको स्थायित्व भएको समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो “नाकाबन्दी, बन्द हडताल जस्तो असाधारण स्थितिमा पनि यो सरकारले उल्लेखनीय काम गरेको छ । मलाई लाग्छ कोही पनि पार्टी तत्काल सरकारबाट फिर्ता हुनेवाला छैन बरु अन्य पार्टीलाई पनि सरकारमा सहभागी गराउनुपर्दछ ।”
मन्त्री बोहराले आपूर्ति र वाणिज्य मन्त्रालयको स्पष्ट कामको बाँडफाँड नभएकाले वाणिज्यतर्फ हाल केही काम नभएको जनाउनुभयो । मन्त्री बोहराले आफूले सम्हालेका श्रम तथा रोजगार र वाणिज्य मन्त्रालयको १०० दिने कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको जनाउँदै मन्त्रालयको काम देखिने गरी गर्ने पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सय दिने कार्ययोजना बनाउन मैले दुवै मन्त्रालयलाई निर्देशन दिएको छु । अब केही दिनमा त्यो सार्वजनिक गर्नेछु ।”
मान्छे झुक्याएर विदेश पठाउने म्यानपावर कम्पनीलाई तत्काल कारबाही गर्ने र कयौँ मुलुकसँग नभएको श्रम सम्झौता केही दिनमै गर्ने तयारी भइरहेको पनि मन्त्री बोहराको भनाइ थियो । आपूर्ति सहजताका लागि प्रधानमन्त्रीले छिट्टै गर्ने चीन र भारतको भ्रमण फलदायी हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो “चीनसँग पनि विप्पा र स्वतन्त्र पारबाहन सन्धि हुनेछ जसको कारण नेपालको समुद्रसँगको पहुँचमा नयाँ बाटो खुल्नेछ ।”
लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनोरञ्जन शर्मा, महासचिव नरेश केसीको संयोजनमा भएको साक्षात्कारमा सांसद इस्तियाक अहमद खां, राप्रपाका जिल्ला सभापति सागरप्रताप राणा, क्लबका सल्लाहकार चेतन पन्तको समेत उपस्थिति थियो । रासस
No comments:
Post a Comment