Sunday, January 3, 2016

संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ – महामन्त्री सिटौला

पोखरा, १९ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, कास्कीद्वारा आज यहाँ आयोजित सङ्घका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा उहाँले देशमा लोकतन्त्रको स्थापना र संविधानसभाबाट संविधान निर्माणको अवस्थासम्म पार्टीले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै यसको कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“वर्तमानमा हामी सत्ता बाहिर छौँ तर संसद्मा पहिलो पार्टी हौँ”– उहाँले भन्नुभयो– “वर्तमान सरकारले संविधान कार्यान्वयनको हैसियत राख्न सकेन । संसद्को पहिलो एवम् नेपालमा लोकतन्त्रका लागि अनवरत नेतृत्व गरेको पार्टीको हैसियतले संविधानको कार्यान्वयनमा काँग्रेसले अगुवाइ गर्छ ।”

पार्टीको आशन्न महाधिवेशनले मुलुकको नयाँ परिवर्तनसँगै आएका चुनौतीलाई समाना गर्न सक्ने नेतृत्व चयन गर्ने बताउँदै उहाँले आगामी नेतृत्वले राष्ट्रिय एकताको नयाँ धार निर्माण गर्न सक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय राजनीतिमा पनि खेलकुदका नियमबाट धेरै सिक्नुपर्नेमा जोड दिँदै महामन्त्री सिटौलाले पार्टी सङ्गठनको आन्तरिक जीवनलाई जीवन्त राख्न हार र जीतलाई स्वीकार गनुपर्ने धारणा राख्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका अध्यक्ष धनराज गुरुङले लोकतन्त्रको विकासबिना खेलकुदको विकास हुन नसक्ने बताउँदै उहाँले काँग्रेस युवालाई सङ्गठित गर्दै खेलको विकासमा पनि अग्रसरता लिने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले युवा र खेलकुद एकआपसमा अन्तरसम्बन्धित भएको बताउँदै खेलका माध्यमबाट युवालाई सङ्गठित गरी समृद्ध राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

सांसद शारदा पौडेलले लोकतन्त्रको विकासका लागि अवनरत सङ्घर्ष गरेको नेपाली काँग्रेसले युवा सशक्तीकरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलका माध्यमबाट युलाई सङ्गठित गर्दै राष्ट्रमा लोकतन्त्रको संस्थागत विकासका लागि सङ्घले सक्रियताका साथ काम गर्ने धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष शेरचनले लोकतान्त्रिक खेलकुद सङ्घ, कास्कीका अध्यक्ष ओम बस्नेसहित पदाधिकारीलाई सङ्घको शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, सङ्घका महासचिव सुवोध प्रधान, आशबहादुर गुरुङ, चिनु रानाभाट, खगराज पौडेललगायतले खेलकुदको विकासलाई पनि राज्यले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts