काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला सशक्तीकरण बढाउन स्थानीयस्तरमा विद्यमान कूरीति प्रथाविरुद्धका कानुन बलियो हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय महिला आयोगले आज आयोगका कामकारबाहीसम्बन्धी बुझाएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले सामाजिक र आर्थिकस्तरमा महिला सशक्त हुनुपर्नेमा जोड दिँदै महिला सक्षम हुनसके उनीहरुको न्यायमा पहुँच सहज हुने बताउनुभयो ।
महिला भएकै कारण उनीहरुमाथि हुने विभेद, हिंसा, बेचबिखनजस्ता कुराको अन्त्यका लागि महिला स्वयम्को क्षमता र सीप अभिवृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आयोगका सदस्य उर्मिला विश्वकर्माले आव २०७१÷७२ मा आयोगले गरेका कार्यलाई प्रस्तुत गर्दै आयोगमा आउने हिंसासम्बन्धी निवेदनमा घरेलु हिंसा र महिला हिंसाका निवेदनको सङ्ख्या धेरै रहेको बताउनुभयो ।
आयोगको तथ्याङ्कअनुसार कूल निवेदनमध्ये ७५.६६ प्रतिशत अर्थात् ३१७ वटा निवेदन घरेलु हिंसाका थिए भने २४.३४ प्रतिशत अर्थात् १०२ वटा महिला हिंसाका निवेदन दर्ता भएका थिए ।
यीमध्ये ६५.१६ प्रतिशत(२७३) घरेलु हिंसाका मुद्दा फछ्र्यौट भएका थिए । यसैगरी २२.९ प्रतिशत अर्थात् ९६ वटा महिला हिंसाका मुद्दा फछ्र्यौट भएका थिए ।
आयोगले बुझाएको प्रतिवेदनमा महिला हिंसा वा घरेलु हिंसा गर्नेलाई पार्टीले राजनीतिक दलको नेता वा उम्मेदवार नदिने प्रावधान बनाउनुपर्ने, संवैधानिक ऐन कानुन बनाउँदा बाध्यकारी ऐन, कानुन बनाउनुपर्ने र राज्यबाट पास भएको ३३ प्रतिशत राजनीतिक दल वा सरकारी संयन्त्रमा लागू हुने नीति निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । रासस
No comments:
Post a Comment