Sunday, January 31, 2016

तिहारभित्र रानीपोखरीको पुनःनिर्माण भइसक्ने

काठमाडौँ, १७ माघ । रानीपोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण आउँदो तिहारसम्ममा सम्पन्न गरिने भएको छ । यो मन्दिर भाइटीकाका दिन एकदिन मात्रै सर्वसाधारणका लागि खुला राखिन्छ ।

गत वैशाखमा गएको विकाशकारी भूकम्पबाट बालगोपालेश्वर मन्दिर पूर्ण क्षति भएको थियो । झन्डै ३५० वर्षपछि काठमाडाँै महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीको पुनःनिर्माण गर्न लागेको छ ।

भूकम्पपछिको पुनःनिर्माण महाअभियान सुरु गरिएको ऐतिहासिकस्थल रानीपोखरीमा पुनःनिर्माण कार्य आगामी वैशाखदेखि सुरु गर्न लागिएको छ । निर्माण कार्य सुरु भएको छ महिनामा सम्पूर्ण काम सक्ने महानगरपालिकाको योजना छ ।

पुनःनिर्माणपछि यस मन्दिरको मुहार फेरिने विश्वास महानगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले व्यक्त गर्नुभयो ।

महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि बोलपत्रसमेत आह्वान गरिसकेको छ । पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ ।

माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गर्नुभएको थियो ।

रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ । पुनःनिर्माणका क्रममा उक्त क्षेत्रमा हरियाली बढाउने र सुन्दरता थप्ने काम हुने महानगरपालिकाले जनाएको छ । साठी रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ ।

पोखरीको हिलो फाल्ने काम ठूलो चुनौतीका रुपमा रहेको महानगरपालिकाले बताएको छ । झन्डै ३५० वर्षपछि पुनःनिर्माण र सौन्दर्यकरण हुन लागेको रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने छ ।

महानगरका प्रमुख कार्यकारी रुद्रसिंह तामाङका अनुसार रानीपोखरीले चर्चे जतिका भागको पुनःनिर्माण गरी सुन्दर बनाइने छ ।

पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमा पथ पनि बनाउने योजना छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts