Tuesday, January 19, 2016

पश्चिमी वायुको प्रभावका कारण चिसो बढ्यो

काठमाडौँ, ५ माघ । काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा अत्यधिक चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ ।

उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा बुधबार पनि मौसम बदली हुनेछ ।

आज मात्रै मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको कँडेलले जानकारी दिनुभयो । हिमपातका कारण भूकम्पबाट घरबारविहीन भएका भूकम्पपीडित बढी समस्यामा परेका छन् ।

विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ तर भोलि भने अत्यधिक चिसो हुने र हिमपातको मात्रासमेत बढ्ने अनुमान गरिएको छ । आज मुलुकभरको मौसम बदली भई आकासमा बादलले ढाकेको भए पनि पूर्वी क्षेत्रको अवस्था भने सामान्य नै रहेको थियो ।

पश्चिमी वायुको चाप क्रमशः पूर्वतिर सर्दै जाँदा भने काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने विभागको भनाइ छ । शुक्रबारबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् कँडेलले बताउनुभयो ।

उहाँका अनुसार आज राति र बुधबार दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षा हुनेछ । आज काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस पुगेको छ ।

जुम्लाको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ भने दीपायलमा ३.६, डडेल्धुरा ३.४, वीरेन्द्रनगर ४.०, दाङको ५.४ डिग्री सेल्सियस तापक्रम रहेको छ । जिरी ०.६, जोमसोम माइनस २.५ तापक्रम रहेको छ ।

विभागका अनुसार मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हुने हवाई उडान प्रभावित हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पनि ‘भिजीविलिटी’ असाध्यै कम रहेको कारण उडानमा समस्या भएको थियो । ‘‘आफूहरुले जोखिम लिएर उडान नगर्न विमान सेवा प्रदायकलाई आग्रह गरेका छौँ ।’’

बुधबार तथा बिहीबार पनि मौसम बदली हुने भएकाले हवाई उडान अवरुद्ध हुनसक्ने भएकाले जबर्जस्ती उडान नगर्न विभागले आग्रह गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts