काठमाडौँ, ९ फागुन । सरकारले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने तयारी गरेको छ ।
नेपालबाट प्रकाशित पहिलो समाचारपत्रको रुपमा गोरखापत्र प्रकाशन भएको पहिलो दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने तयारी गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव एकनारायण अर्यालको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गोरखापत्र प्रकाशन भएको दिनलाई स्मरण गर्दै दिवस मनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रालय मातहतका विभागीय प्रमुख एवम् पत्रकारिता क्षेत्रका विज्ञको सुझावका आधारमा बैठकले उक्त सिफारिस गर्ने निर्णय भएको हो ।
बैठकमा बोल्दै निमित्त सचिव अर्यालले पत्रकारिता क्षेत्रको विकास र सम्मानका लागि दिवस मनाउन लागिएको बताउनुभयो ।
उहाँले नेपालमा पत्रकारिता दिवस, अन्तर्राष्ट्रिय पत्रकारिता दिवसका दिन पारेर मनाउने गरिएकामा पहिलोपटक वैशाख २४ लाई आधार मानेर राष्ट्रियरुपमा पत्रकारिता दिवस मनाउने तयारी गरिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने तयारीलाई महासङ्घले सकारात्मक रुपमा लिएको बताउनुभयो ।
स्वतन्त्र पत्रकार ध्रुवहरि अधिकारीले पत्रकारिता क्षेत्रको योगदानलाई कदर गर्दै सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउने तयारी गर्नु सकारात्मक हो भन्दै यसका लागि सबैको सहयोग चाहिने उल्लेख गर्नुभयो ।
बैठकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, सञ्चार मन्त्रालयका सहसचिवद्वय रामचन्द्र ढकाल र रघुराम विष्ट, राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक निर्मला आचार्य, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, गोरखापत्रका महाप्रबन्धक सुशील कोइराला, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं, बरिष्ठ पत्रकार पर्शुराम खरेलको सहभागिता थियो । रासस
No comments:
Post a Comment