गुजरात, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजकीय भ्रमणको पाँचाँै दिन आज गुजरात प्रान्तको भुजस्थित भीमासागर क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण र नयाँ बस्ती विकास क्षेत्रको अवलोकन गर्नुभएको छ ।
दुई वर्षअघि र सन् २००१ मा सो क्षेत्रमा गएका भूकम्पबाट भएको क्षति र पुनःनिर्माणको जानकारी लिन प्रधानमन्त्री यहाँ आइपुग्नुभएको हो ।
प्रधानमन्त्रीका साथ भ्रमण दलका अन्य सदस्य पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीसमक्ष सो प्रदेशका गभर्नर ओपी कोह्लीलगायतले पुनःनिर्माण कार्यक्रमबारे अवगत गराउनुभएको थियो ।
सो क्षेत्रमा विपद् व्यवस्थापन समिति र पुनःनिर्माण प्राधिकरणले गरेका कार्यबाट विगतको भन्दा राम्रो विकास निर्माण भएको पाइएको छ । स्थानीय अधिकारीका अनुसार नयाँ जग्गा वितरण गरी बस्ती निर्माण, उद्योग कलकारखानाको निर्माण, वैदेशिक सहयोग परिचालन, शिक्षालय, स्वास्थ्य केन्द्र, भूकम्पमापन केन्द्र, पुस्तकालय आदिको निर्माण गरिएको छ ।
नेपालमा पनि गत वैशाख १२ मा भूकम्प गएपछि पुनःनिर्माणको क्रम चलिरहेका बेला सरकारका विभिन्न मन्त्री, सांसद्, मुख्य सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको टोली सो क्षेत्रमा पुगेको हो । प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भुजको पुनःनिर्माण तुलनात्मकरुपमा चाँडो भएको पाइएबाट नेपालले पनि पाठ सिक्न सक्ने बताउनुभयो ।
सन् २००१ मा भुजको कुच जिल्लामा ७.९ म्याग्निच्युडको भूकम्पबाट १८ हजार छ सय मानिसको मृत्यु भएको थियो ।
यसअघि, प्रधानमन्त्री ओलीलाई भुज विमानस्थलदेखि स्थानीय रिजेन्ता रिसोर्टसम्म पंक्तिबद्ध राजनीतिक कार्यकर्ता, जनता र विद्यार्थीद्वारा विभिन्न झाँकी, नृत्य, खादा र पुष्पाहारबाट भव्य स्वागत गरिएको थियो ।
गुजरात प्रस्थान गर्नुअघि ओलीलाई भारतीय आयुष राज्यमन्त्री श्रीपद् यश्व नायकले नयाँ दिल्लीको सैनिक विमानस्थलमा विदाई गर्नुभएको थियो । प्रधानमन्त्री ओली आजै साँझ भारतको मुम्बई सहर पुग्ने कार्यक्रम रहेको छ । रासस
No comments:
Post a Comment