कावासोती, ८ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सांस्कृतिक–धार्मिक पर्यटनले मात्र मुलुकलाई समृद्ध बनाउने बताउनुभएको छ ।
नवलपरासीको थारु होमस्टे अमलटारीमा आजदेखि सुरु भएको होमस्टे (घरबास) एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एवम् होमस्टे कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
थारु, मगर, बोटे, गुरुङलगायतका नेपालमा रहेको जातिको आफ्नै मौलिक पन र संस्कृति भएकाले सांस्कृतिक पर्यटनको सम्भावना राम्रो छ हामीले यसलाई व्यवस्थापन गरी पर्यटकलाई आकर्षण गर्नुपर्छ”– मन्त्री पोखरेलले भन्नुभयो– “सांस्कृतिक पर्यटनले मुलुकको संस्कृतिलाई प्रवद्र्धन गर्छ ।”
‘‘हिन्दू र बुद्ध सर्किट बनाउँदामात्र हाम्रो धार्मिक पर्यटनको आकर्षण बढ्छ त्यसैले मन्त्रालयले नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई विकास गरी ग्रेटर लुम्बिनी बनाउँछौँ” उहाँले भन्नुभयो ।
लुम्बिनी आएका पर्यटकलाई दमकसम्म लैजाने र बसाइँ लम्ब्याउने योजना सरकारले छ मन्त्री पोखरेलले भन्नुभयो – “ग्रामीण पर्यटन प्रवद्र्धनका लागि गाउँ केन्द्रित कार्यक्रम मन्त्रालयले तय गरेको छ ।” सामुदायिक वन, सहकारी जसरी फस्टाएका छन् होमस्टे पनि त्यसरी नै फस्टाउने उहाँले बताउनुभयो ।
तीन वर्षदेखि सङ्गठिन हुन थालेको होमस्टेले ग्रामीण भेगमा बासिन्दाको आर्थिक पक्ष बलियो बनाउँदै लगेको बताउनुभयो । होमस्टे सञ्चालन गर्ने काम कृषि उत्पादन बढाउने पनि भएकाले गाउँस्तरबाट आएका योजनामा सरकारले सहयोग गर्ने मन्त्री पोखरेलले बताउनुभयो ।
एमालेको केन्द्रीय सदस्य एवम् पर्यटन विभागका प्रमुख सूर्य थापाले सातवटा प्रदेशमा कम्तीमा पनि एउटा प्रदेशमा तीनवटा नमुना होमस्टे सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
सबै दलले होमस्टेको महत्व बुझ्न आवश्यक भएको बताउँदै केन्द्रीय सदस्य थापाले भन्नुभयो – “दलहरु एकता बद्ध भएर काम गर्दा धेरै योगदान दिन सक्छन् ।” यहाँ नआउने दलहरुलाई पनि म होमस्टे पर्यटनका बारेमा बुझ्नका लागि आह्वान गर्छु उहाँले भन्नुभयो – “प्रकृति र संस्कृतिबाट लाभ लिने ठाउँ होमस्टे हो ।”
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तिलक महतले डाँफेदेखि एकसिङ्गे गैँडासमेत प्रदेश नं ४ मा पाइने भएकाले प्राकृतिक र सांस्कृतिक रुपमा महत्व रहेको यो प्रदेशको विकासमा स्थानीय तहबाटै सक्रियता बढाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा विश्व वन्यजन्तु कोषका वरिष्ठ निर्देशक सन्तोषमणि नेपाल, टानका अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन बोर्डका सदस्य पूर्ण कुँवर, राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका प्रथम उपाध्यक्षमा सिएन पाण्डे, नेपाल पर्यटन पत्रकार मञ्चका अध्यक्ष विद्रोही गिरी, अमलटारी हामेस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारु, परशुराम चौधरीलगायतले बोल्नुभएको थियो ।
एकतीस जिल्लाका ७० निजी र ८० सामुदायिक गरी १५० होमस्टेका २५० सहभागी सम्मेलनमा सहभागी छन् । सम्मेलन दुई दिनसम्म चल्नेछ । रासस
No comments:
Post a Comment