पोखरा, ८ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले देशमा राजनीतिक क्रान्ति सफल भइसकेका कारण अब आर्थिक समृद्धिका लागि एजेन्डा बनाएर अघि बढ्नु वर्तमानको आवश्यकता भएको बताउनुभएको छ ।
नेकपा (एमाल)ले देशव्यापी रुपमा सञ्चालन गरेको संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान, २०७२ अन्तर्गत पोखरा नगर समन्वय कमिटीद्वारा आयोजित नगरस्तरीय कार्यकर्ता प्रशिक्षणको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालको नयाँ संविधान समावेशीता, समानुपातिकलगायतका दृष्टिबाट उत्कृष्ट रहेको बताउँदै उहाँले यसको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलको एकताबद्ध प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
उहाँले संविधानमा उल्लेखित विषयलाई जनस्तरसम्म पु¥याउन सङ्गठित तबरबाट क्रियाशील बन्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले देशको आर्थिक, सामाजिक रुपान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्ता सङ्गठित बनेर लाग्नुपर्ने र समृद्धिका लागि उत्पादन, निर्माण र व्यावसायिक अभिवृद्धि अपरिहार्य हुने उल्लेख गर्नुभयो ।
नेकपा (एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य एवम् गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकर्माले पार्टीको महाधिवेशनले निर्धारित गरेका नीति तथा कार्यक्रमलाई जनताले अनुभूति गर्ने तबरबाट समाजको तल्लो तहसम्म पु¥याउनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) सल्लाहकार परिषद्का सदस्य खगराज अधिकारीले एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको नीतिअनुसार देश वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो ।
नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष कृष्ण थापाले संविधानले प्रत्येक वर्ग र समुदायका अधिकारलाई सुनिश्चित गरेको बताउँदै पार्टीले स्थानीय निकायको निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने भएको जानकारी दिनुभयो ।
कार्यक्रममा पोखरा नगर समन्वय कमिटीका संयोजक तेजनारायण अधिकारी, जिल्ला कमिटी सदस्य दानबहादुर बानियाँ, जिल्ला कमिटी सदस्य कृष्ण न्यौपानेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
प्रशिक्षणमा पोखरा नगर क्षेत्रका तीन सयभन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपा (एमाले)ले आजै लेखनाथ नगर कमिटीको कार्यकर्ता प्रशिक्षण पनि सम्पन्न गरेको छ । रासस
No comments:
Post a Comment