काठमाडौँ, १४ फागुन । नेपाली काँग्रेसका युवा नेताले पार्टीको १३ औँ महाधिवेशन कुनै ‘एउटा व्यक्ति चयन’ मात्र नभएर ‘नीतिप्रधान’ हुनुपर्नेमा जोड दिएका छन् ।
यहाँ आज रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले पार्टीमा गुट–उपगुट हाबी भएको बताउँदै विचारको राजनीति ओझेलमा परेकामा चिन्ता व्यक्त गरे ।
पार्टीका भ्रातृ सङ्गठन लामो समयदेखि भागबन्डाका आधारमा चलेको बताउँदै ती नेताले अब पनि नसच्चिए पार्टीको ‘लोकतान्त्रिक छवि’ माथि नै प्रश्न उठ्नेतर्फ नेतृत्वलाई सचेत गराए ।
केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको अबको नेतृत्व सङ्घीयता, समावेशी लोकतान्त्रिक गणतन्त्रजस्ता उपलब्धिलाई संस्थागत गराउन सक्षम खालको हुनुपर्ने बताउनुभयो ।
नेविसङ्का पूर्वअध्यक्ष एवम् पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेसम्म कुर्सीका निम्ति मात्र उम्मेदवारी आएकाले जसलाई जिताए पनि वैचारिक रुपमा फरक नपर्ने बताउनुभयो ।
युवा नेता विश्वप्रकाश शर्माले पार्टीले युवालाई जिम्मेवारी नदिएर सधँै जगेडामा राख्ने गरेको बताउँदै अब त्यसको अन्त्य हुनुपर्ने र युवाले नेतृत्व पाउनुपर्नेमा जोड दिनुभयो ।
महासमिति सदस्यद्वय महेश थपलिया र तिलक रुपालीले दुःख गरेका र क्षमतावान् कार्यकर्तालाई पार्टीले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment