काठमाडौँ, ८ फागुन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आर्थिक विकासको मुख्य मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग रहेको बताउनुभएको छ ।
‘मेडिन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँँ’ भन्ने नाराका साथ २७औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको अवलोकन गर्दै पाण्डेले घरेलु उद्योगको विकास भएमा आर्थिक विकासको गति तीव्ररुपमा अगाडि बढ्ने धारणा राख्नुभएका हो ।
उहाँले भन्नुभयो–‘स्वदेशी उत्पादनलाई जोड दिने गरी मन्त्रालयले आफ्ना कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्ने गरी मन्त्रालयले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक छ ।’’
वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले नेपालमा भएका साधन स्रोतलाई परिचालन गर्न सकेमा आयआर्जन गर्न सकिने र आर्थिक वृद्धिलाई बढवा दिन सकिने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – “नेपाली उद्यमीले उत्पादन गरेका वस्तु राम्रा रहेकाले यस्ता सामानको बजारीकरण गर्ने गरी सरकारले आफ्ना कार्यक्रमलाई अगाडि बढाउनुपर्छ ।”
घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भृकुटीमण्डपमा फागुन ४ गतेबाट सुरु भएको प्रदर्शनी भोलिसम्म चल्नेछ ।
प्रदर्शनीमा ७५ जिल्लाका उद्यमीको सहभागिता रहेको छ । लघु घरेलु तथा साना उद्यमीहरुलाई राष्ट्रियस्तरमा परिचित गराउन प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
आजसम्म सात लाख दर्शकले प्रदर्शनीको अवलोकन गरिसकेको र सात करोड ५० लाखको आर्थिक कारोबार भइसकेको प्रदर्शनी प्रचारप्रसार संयोजक नारायणमणि लामिछानेले जानकारी दिनुभयो ।
मेलाका विशेष आकर्षणका रुपमा पूर्वेली ढाका, बाँसजन्य उत्पादन, अल्लोजस्ता प्राकृतिक रेशाबाट उत्पादित वस्तु, छाला जुत्ता हस्तकला, खाद्य वस्तु एवम् अर्गानिक चिया र कफी, हाते कागज तथा ऊनी, बाँसबाट उत्पादित वस्तुलगायतका लघु, घरेलुु तथा साना उद्योगमा वैकल्पिक ऊर्जाको प्रयोगसम्बन्धी सामान रहेका छन् । रासस
No comments:
Post a Comment