काठमाडौँ, १९ माघ । प्राविधिक शिक्षा प्रदान गर्न नसकिएसम्म विदेश पलायन हुने क्रम नरोकिने बताइएको छ ।
आज यहाँ विश्व निकेतन उच्चमाध्यमिक विद्यालयको ७०औँ वार्षिकोत्सव कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले देशमा प्राविधिक शिक्षालाई विस्तार गर्ने हो भने विदेश जाने क्रम कम हुने बताउनुभयो ।
सोही अवसरमा उहाँले भूकम्पका कारण क्षति भएको विद्यालयको पुनःनिर्माण गर्ने काम प्राथमिकतामा रहेको भन्दै बालबालिकालाई गुणस्तरीय शिक्षा दिनका लागि शिक्षक र अभिभावकबीच नङमासुको सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भूकम्पका कारण विद्यालयका अधिकांश कोठा बस्न अयोग्य रहेकाले पुनःनिर्माणका लागि सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
प्रधानाध्यापक कँडेलले समयको माग सँगै शिक्षा परिमार्जन गरिनुपर्ने पनि बताउनुभयो । वार्षिकोत्सवको अवसरमा संस्थापक अध्यक्ष, पूर्वव्यवस्थापन समितिका अध्यक्ष अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment