काठमाडौँ १९ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री र भारतीय स्थल सेनाध्यक्ष दलबीर सिंहबीच आज भारतको नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलोपटक छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहनुभएका क्षत्री र सिंहबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष तथा नेपाल सरकारद्वारा मानार्थ महारथी दर्जाद्वारा सुशोभित सिंहको निमन्त्रणामा प्रधानसेनापति क्षत्री छ दिने भारत भ्रमणमा सोमबार त्यसतर्फ जानुभएको हो ।
प्रधानसेनापति क्षत्रीले आज बिहान अमर जवान ज्योति भवनमा वीर सहिदहरुको सम्झनामा सम्मान व्यक्त गर्नुभएको थियो ।
प्रधानसेनापति क्षत्रीलाई भारतीय सैनिक टुकडीले साउथ ब्लक लनमा आजै आयोजित समारोहमा सम्मान गारत समेत अर्पण गरेको थियो ।
सो क्रममा प्रधानसेनापति क्षत्री भारतीय स्थल सेनाध्यक्षको ब्रिफिङ हलमा आयोजित शान्ति सुरक्षासम्बन्धीको बैठकमा सहभागी हुनुभयो ।
प्रधानसेनापति र भारतीय रक्षामन्त्री पारिकरबीच भेट
यसैबीच भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति श्री क्षत्रीले भारतीय रक्षामन्त्री दामोदर पारिकरसँग आजै भेटवार्ता गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यसैगरी आजै प्रधानसेनापति महारथी श्री क्षत्रीले भारतीय जलसेना प्रमुख रोविन के दोवान, चीन अफ स्टाफ कमिटीका प्रमुख विक्रम सिंह, वायुसेना प्रमुख अरुप राह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोहालसँग छुट्टाछुट्टै भेटवार्ता समेत गर्नुभएको सेनाले जनाएको छ । रासस
No comments:
Post a Comment