महेन्द्रनगर (धनुषा), १९ माघ । नेपाली काँग्रेस धनुषाले आफ्ना सांसदको घरलाई लक्षित गरेर भइरहेको विरोध र तोडफोडको निन्दा गरेको छ ।
मधेसी मोर्चाको यस्ता क्रियाकलाप अतिवादी सोच मात्रै भएको धनुषा काँग्रेसको भनाइ छ ।
नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले मधेसी मोर्चाको आन्दोलन विस्तारै कमजोर बन्दै गएकाले आन्दोलनकारीले अहिले काँग्रेसलाई लक्षित गरेर विरोध प्रदर्शनमा लागेको आरोप लगाउनुभएको थियो ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाले नेपाली काँग्रेसका अधिवेशनलाई नै बिथोल्नु अतिवादी सोचको उपज भएको बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका स्थानीय कार्यकर्ताले काँग्रेसले हरेक तहका अधिवेशन बिथोल्ने घोषणा गरेर गत दुई दिनदेखि काँग्रेसका सांसदका घर अगाडि तोडफोड र हिंसात्मक गतिविधि बढाएपछि धनुषा काँग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।
काँग्रेसले अधिवेशनलाई जसरी पनि सम्पन्न गर्ने जनाएको छ । पार्टीको इतिहासलाई जीवन्तता दिन अधिवेशन महत्वपूर्ण भएको भन्दै यसका लागि आफूहरुपछि नपर्ने सभापति यादवले बताउनुभयो । रासस
No comments:
Post a Comment