काठमाडौँ, १९ माघ । नेकपा (एमाले) भित्रको अन्तरद्वन्द्व, आन्तरिक बहसजस्ता विषयलाई जनतामाझ लैजान मदन भण्डारी अध्ययन केन्द्रले आजदेखि राष्ट्रव्यापी राष्ट्रिय विमर्श अभियान सुरु गरेको छ ।
केन्द्रको आयोजनामा आज भएको ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ विषयक कार्यक्रममा २०६१ माघ १९ गतेका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दललाई प्रतिबन्ध लगाई शासनसत्ता आफ्नो हातमा लिएको कालो दिनको सम्झना गर्दै आजकै दिनदेखि उक्त अभियान सुरु गरेको बताइयो ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले लामो सङ्घर्षपछि आएको संविधान लोकतान्त्रिक भएको बताउँदै यसले सम्पूर्ण नेपालीको भावनालाई समेटेको बताउनुभयो ।
उहाँले पार्टीमा गुट उपगुट धेरै हाबी भएको भन्दै यसले पार्टीलाई समाप्त पार्ने बताउनुभयो । मुलुकको समृद्धिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहने भन्दै पार्टीभित्र रहेका समस्यालाई विस्तारै हल गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको आवश्यकता राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेता नेपालले मधेसी मोर्चाको माग नयाँ होइन भन्दै त्यहाँका स्थानीय जनताको भावना नबुझी सीमाङ्कनको काम अगाडि बढाउन नसकिने बताउनुभयो ।
पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै नयाँ सोच र नयाँ ‘भिजन’ भएको पार्टीको आवश्यकता छ र त्यो एमाले नै रहेको जिकिर गर्नुभयो ।
उहाँले अहिले पार्टीले विचारको पार्टी कसरी बनाउने र सामूहिक जिम्मेवारी कसरी दिने भन्ने विषयमा पार्टीले ध्यान पु¥याउनुपर्छ भन्नुभयो ।
पार्टीका उपमहासचिव घनश्याम भुसालले नेपालको संविधान अन्य मुलुकको तुलनामा प्रगतिशील भएको दाबी गर्दै संविधान कार्यान्वयनमा सबैभन्दा ठूलो खतरा भारत हो भन्नुभयो ।
“अहिले मधेसी नेताले मधेसका नाममा दलाली गरिरहेका छन्”, उहाँले भन्नुभयो– “समाजवाद उन्मुख संविधान जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन गर्न उनीहरु नै बाधक बन्नेछन् ।”
स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संविधान कार्यान्वयनको पहिलो चरण स्थानीय निकायको चुनाव हो भन्दै यसको कार्यान्वयन अविलम्ब सुरु गर्नुपर्ने बताउनुभयो । पार्टीमा भएको विसङ्गतिलाई परास्त गर्नुपर्नेमा जोड दिँदै अब पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयनमा भाँजो हाल्नेलाई ‘च्याँखे पार्टी’ को सङ्ज्ञा दिँदै विदेशीले जन्माइदिएकै भरमा उनीहरुले संविधान भाँड्न नसक्ने बताउनुभयो ।
एमालेलाई दरो बनाउने हो भने नेतृत्व पक्ष नै दरो हुनुपर्नेमा जोड दिँदै उहाँले पार्टीमा सबैलाई जिम्मेवारी दिनुपर्ने र जिम्मेवारी पूरा गरे नगरेको खोजी पनि गरिनुपर्छ ।
पार्टीका सचिव तथा केन्द्रका अध्यक्ष योगेश भट्टराईले असल पार्टीले नै असल मुलुक निर्माण गर्ने भन्दै एमाले त्यस्तो पार्टीका रुपमा रहेको बताउनुभयो ।
पार्टीले बहुपदीय प्रणाली लागू गरिसकेको अवस्थामा पार्टीको निर्णय र कार्यान्वयनमा सबैको सहभागिता उत्तिकै रहनेमा उहाँले जोड दिनुभयो ।
एमालेका केन्द्रीय सदस्य तथा केन्द्रका उपाध्यक्ष रामकुमारी झाँक्रीले पार्टीको युवा शक्तिलाई मुलुकको समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment