काठमाडौँ, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
पटक–पटक सम्पत्ति विवरण बुझाउन र नबुझाएको भए कानुनअनुसार रु पाँच हजार जरिवाना बुझाउन आग्रह गरेपनि अटेर गरेको भन्दै आयोगले असुल उपर गर्नेसम्मको कारबाही गर्ने जनाएको हो ।
आयोगले आज सम्बन्धित कार्यालयका पदाधिकारीलाई बोलाएर सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई किन कारबाही नभएको, सम्पत्ति विवरण बुझाउन किन ढिलाइ भएको हो भनेर जिज्ञासा राखेको हो । आयोगका अनुसार आव २०७०÷७१ मा २० हजारभन्दा बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन् भने आव २०७१÷७२ मा करिब २३ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
आर्थिक वर्ष सुरु भएको ९० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ । तर सांसद्, पूर्वमन्त्री एवम् कर्मचारीले गत आव र चालु आवको समेत सम्पत्ति विवरण बुझाएका छैनन् । “पटक–पटक सम्पत्ति विवरण बुझाउन आग्रह गर्दा पनि अटेर गरिरहेको अवस्था छ, अब सरकारी बाँकी वक्यौताबमोजिम असुल उपर गरिनेछ”–आयोगका प्रवक्ता कृष्णहरि पुस्करले भन्नुभयो ।
आव २०७०÷७१ मा एक हजार ४०० जनाले मात्रै जरिवाना बुझाएको र आगामी दिनमा समयमै सम्पत्ति विवरण बुझाउने प्रतिबद्धता जनाएका थिए । चालु आवमा भने कोही कसैले पनि जरिवाना बुझाएको जानकारी समेत नआएको प्रवक्ता पुस्करको भनाइ छ ।
“तलब भत्ताबाट नै असुल उपर गर्नुपर्छ, त्यसमा सम्बन्धित अधिकारीले पनि जवाफ दिनुपर्छ, आफ्नो मातहतका कर्मचारीले किन समयमै सम्पत्ति विवरण बुझाएनन् त्यसको समेत छानबिन हुन्छ”–प्रवक्ता पुस्करले भन्नुभयो ।
‘विमानस्थलबाट नागरिक कसरी हराए ?’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युवती हराएको सम्बन्धमा समेत आयोगले छानबिन गर्ने भएको छ । श्रीलङ्काको अध्यागमनले सात नेपाली युवतीलाई इन्डियन एयरलाइन्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि भगाइएको समाचार सार्वजनिक भएको थियो ।
ती युवती नक्कली कागजात बोकेको भन्दै श्रीलङ्काबाट फर्किएका थिए । विमानस्थलबाट लविन तामाङ, कमला तामाङ, मिङ्मार तामाङ, तेम्बासाङ्मु तामाङ, नगिज्योक तामाङ, छिरिङ शेर्पा, कमला तामाङ विमानस्थलबाटै बेपत्ता भएका थिए ।
ती युवती कसले भगायो भन्ने बारेमा गृह मन्त्रालयले समेत छानबिन गरिरहेको छ । आयोगले अध्यागमन विभाग र विमानस्थलमा कार्यरत नेपाल प्रहरीका उच्च अधिकारीलाई समेत छानबिनको दायरामा ल्याउने जनाएको छ ।
यस्तै, आयोगले वैदेशिक रोजगारीमा जान चाहने युवालाई ठगी गरेको भन्ने उजुरी परेपछि काबेली ओभरसिजलाई कारबाही गर्न वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनअनुसार नै बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ ।
सो ओभरसिजमा बोर्डले यही फागुन ७ गते नै छापा मारी आवश्यक कागजात नियन्त्रणमा लिएको छ । यस्तै, वैदेशिक रोजगारीमा जाने युवालाई अनुशिक्षण गर्ने राज ओरियन्टेसनलाई समेत बोर्डले आवश्यक कारबाही गरेको छ । सो संस्थाले कुल ४१ जनालाई अनुशिक्षण गराउने बताएको भए पनि १४ जनालाई मात्रै दिएको भन्ने उजुरी आयोगमा परेको थियो । रासस
No comments:
Post a Comment