रत्ननगर (चितवन), ४ फागुन । चितवनको दक्षिण माडीका विपन्न र गरिव महिलाहरु संगठित हुँदै सहकारी नै स्थापना गरेर उद्यमी बन्न सफल भएका छन् ।
आफ्नो घरको दैनिकी चलाउन दिनभर ज्याला मजदुरी गरेर पेट पाल्ने उनीहरु अहिले तरकारी खेती र पशुपालन गरेर मनग्य आयआर्जन गरिरहेका छन् ।
यसरी उद्यमी बन्ने मध्येकै हुनुहुन्छ माडी ११ अयोध्यापुरीकी सरिता रेग्मी । विसं २०५८ सालमा उहाँ चितवनको रत्ननगर नजिकै पिठ्वाबाट १ कठ्ठा तीन धुर जग्गा बेचेरे माडी पुग्नुभएको थियो ।
एक कठ्ठा जग्गाले खान लाउन नपुगेपछि उहाँ त्यही बेचेको पैसाले माडीको एउटा कुनामा १० कठ्ठा जग्गा किन्नुभयो । खासै उव्जनी नहुने जग्गा भएपछि उहाँ अर्काको घरमा भाडामा लामो समय बस्नुभयो । ज्याला मजदुरी गर्दैगर्दा गाउँमा कालिका सामुदायिक महिला विकास केन्द्रले विपन्न गाउँ छानेर महिलालाई संगठिन गर्न थाल्यो । विसं २०६४ मा केयर नेपालको समेत सहयोगमा सक्षम कार्यक्रम चलाएर केन्द्रले गाउँमा गरिव महिला छनोट गरी चेतनामूलक कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रम पछि शक्ति कार्यक्रम र पुनः सोही सक्षम परियोजनाले महिलाहरुलाई निरन्तर आयआर्जनमा लगाएपछि रेग्मीको जीवनमा आमुल परिवर्तन आएको हो ।
पहिले समूहमा सहभागी भएकी रेग्मी अहिले स्थानीय बुलबुले महिला कृषि सहकारीमा आबद्ध हुनुभएको छ । उहाँको घरमा अहिले ७ कठ्ठामा माछा पोखरी र १२ वटा गाई छन् । छ वटाले दुध दिन्छ भने ४ वटा व्याउने छन् । यस अत्तिरिक्त ५ वटा बंगुर छन् । बाख्रा, खसी, कुखुरा पनि प्रशस्तै पालिएका छन् ।
उहाँलाई अहिले खान लगाउन कुनै समस्या छैन । अरुको जग्गा डेढ लाखमा बन्दकी राखेर आयआर्जन बढाउने काम गरिरहेको रेग्मीले बताउनुभयो । उहाँले करिव १० लाख रुपैयाँ बराबरको सम्पत्ति जोडिसक्नु भएको छ ।
उहाँलाई श्रीमान् रुद्रप्रसाद रेग्मीले भरपूर सहयोग गर्नुहुन्छ । अहिले घरबाट दैनिक ३५ लिटरसम्म दुध वेच्ने गरिएको रुद्रप्रसादले बताउनुभयो ।
अहिले महिलाहरुले मात्रै चलाएको यहाँ ५ वटा सहकारीहरु खुलेका छन् । माडीको बुलबुले महिला कृषि सहकारी, ज्वाला महिला कृषि सहकारी, समन्वय महिला कृषि सहकारी, कर्मशील महिला कृषि सहकारी र जगतपुरको पौरखी महिला कृषि सहकारीमा गरी करिव एक ५ सय भन्दा बढी विपन्न महिला आबद्ध भएका छन् ।
यिनै सहकारीमार्फत अहिले महिलाहरु सफल उद्यमी बन्दै गएका छन् । पहिले नयाँ मान्छे आउँदा बोल्न डराउने महिलाहरु सोही कार्यक्रम मार्फत विस्तारै परिवर्तन हुँदै अहिले सफल उद्यमीसम्म बन्न पुगेको केन्द्रकी अध्यक्ष कोपिला शिवाकोटी बताउनुहुन्छ ।
अर्का सफल उद्यमीमा पर्नुहुन्छ ज्वाला महिला कृषि सहकारी संस्थामा आबद्ध हुनुभएकी एगिन्द्र शाह पनि । उहाँको भएको खेत रीउ नदीले बगाई दियो । अहिले उहाँको जग्गा बगर बनेको छ । नजिकै माइतीले कमाउन दिएको जग्गामा अहिले सहकारी मार्फत ऋण सुविधा लिएर अर्गानिक तरकारी खेती लगाउनुभएको छ ।
श्रीमान् सँगै उहाँ खेतमा काम गर्न जानुहुन्छ । उहाँले कालिका सामुदायिक महिला विकास केन्द्रमार्फत अर्गानिक तरकारी खेतीका लागि आइपिएम पाठशालाबाट सिप समेत सिक्नुभयो । अहिले १ विगाहामा अर्गानिक तरकारी खेती छ भने ५ कठ्ठामा उहाँले बगर खेती गनुृभएको छ । ‘लहलह तरकारी देख्दा मन खुसी हुन्छ,’ एगिन्द्राले भन्नुभयो । मलाई सक्षम कार्यक्रम र सहकारीले नै यहाँसम्म ल्याएको हो ।
ज्वाला महिला कृषि सहकारीकी निवर्तमान अध्यक्ष इन्द्रकुमारी विक गाउँका महिलाहरु कुखुरापालन, चटपट व्यवसाय, सिलाइकटाइ, फर्निचर, तरकारी खेती, गाईपालन लगायत क्षेत्रमा लगानी गरिरहेको बताउनुहुन्छ ।
यी सहकारीले बढीमा ५० हजारसम्म ऋण दिने गरेका छन् ।
विसं २०६४ देखि समूहमा संगठित भएका उनीहरुलाई २०६९ सालदेखि सहकारीमा आबद्ध गराइएको हो । रासस
No comments:
Post a Comment