काठमाडौँ, ११ फागुन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपाल–भारतबीच अब कुनै पनि असमझदारीको अवस्था नरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपाल–भारतबीच सबै खालका असमझदारी अन्त्य भएको र आगामी दिनमा दुई देशको सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत भइसक्नुभएका नेता नेपालले संविधान निर्माणपछि विकास–निर्माण पार्टीको मुख्य कार्यसूची बन्ने स्पष्ट पार्नुभयो । देशको प्राकृतिक स्रोत र साधनको सही रुपमा प्रयोग गर्न नसकिएको भन्दै नेता नेपालले देशमा यति धेरै प्राकृतिक स्रोत भएर पनि हामीले ‘माल पाएर चाल पाएनौँ’, भन्नुभयो ।
उहाँले गौतमबुद्धको जन्मस्थान हेर्नका लागि मात्र विश्वका एक अर्ब ३० करोड बौद्धमार्गीमध्ये एक प्रतिशत मात्रै ल्याउन सकेपनि एक करोडभन्दा बढी बौद्धमार्गी नेपाल आउने बताउँदै धार्मिक, सांस्कृतिक, साहसिक पर्यटकीय क्षेत्रको विकास गर्न सके मुलुकको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तराई–मधेसी समुदाय पनि नेपालको मुल आदिवासी भएको र मधेसीमाथि शङ्काको दृष्टि हर्ने नहुने भन्दै नेता नेपालले हिमाल, पहाड र तराई सबैलाई उत्तिकै सम्मान गरी राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको समृद्धिको माध्यम नै पर्यटन रहेकाले यस क्षेत्रको विकास गर्न सकेमा नेपाल विकसित हुने बताउनुभयो । रासस
No comments:
Post a Comment