काठमाडौँ, १० फागुन । ‘प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७२’अन्तर्गत त्रिभुवन आर्मी क्लब ‘ए’ र ‘बी’ दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्ड हलमा आज भएको खेलमा आर्मी ‘बी’ले पश्चिमाञ्चल भलिबल टोलीलाई हराउँदै सेमिफाइनल पक्का गरेको हो भने आर्मी ‘ए’ पनि सेमिफाइनलमा पुगेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बल (एपिएफ) तथा नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेका छन् । आजै भएका खेलमा एपिएफले मध्यपश्चिमाञ्चल तथा पुलिसले पूर्वाञ्चललाई हराउँदै सेमिफाइनल स्थान पक्का गरेका हुन् । योसँगै राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा चारै विभागीय टोली भिड्ने पक्का भएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु तीन लाखसहितको पुरस्कार राखिएको छ । त्यस्तै दोस्रो हुने टोलीलाई रु एक लाख ५० हजार तथा तेस्रो हुनेलाई रु ७५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, ब्लकर, डिफेन्डर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १०÷१० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारस्वरुप १५० सिसीको पल्सर मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुने सबै टोली र खेलाडीलाई सरकारले तोकेअनुरुपको बस्ने र खाने व्यवस्था सेनाले मिलाएको छ ।
सेना र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा समग्र खेलकुद क्षेत्रकै विकासमा टेवा पु¥याउन प्रतियोगिता सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ । रासस
No comments:
Post a Comment