काठमाडौँ, २१ माघ । सबै मन्त्रालयले गर्ने मुख्य मुख्य कामको विवरण सङ्कलन गरेर सामान्य प्रशासन मन्त्रालयले ‘सरकारले के गर्छ ?’ विषयको सूचनामूलक पुस्तिका प्रकाशन गर्ने भएको छ ।
पुस्तिकाका लागि सबै मन्त्रालयसँग अन्तर्गतका निकायले गर्ने मुख्य मुख्य कामको विवरण मागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । “पुस्तिकामा सार्वजनिक निकायबाट नागरिकलाई दिइने सेवासुविधा, सामाजिक सुरक्षा, अनुदान, छुट र दस्तुर मिनाहाजस्ता विषय समेटिनेछ, नागरिकलाई सरकारले कुन–कुन काममा सहयोग, समन्वय, संरक्षण, सम्बद्र्धन, परामर्श, वितरण, अनुगमन, नियमन, स्तरनिर्धारण जस्ता विषयमा के कस्ता सेवा प्रदान गरिएको छ, त्यसलाई सार्वजनिकीकरण गर्न यो प्रकाशनको आवश्यकता देखिएको हो”–मन्त्रालयका सहसचिव किरणराज शर्माले भन्नुभयो ।
मन्त्रालयहरुबाट विवरण आउने क्रम सुरु भएकाले माघको अन्तसम्ममा पुस्तिका प्रकाशनमा मन्त्रालयको योजना छ । मन्त्रालयको सोचपत्र २०७२ अनुसार यो पुस्तिका प्रकाशन गर्न लागिएको हो । पुस्तिका प्रकाशन भएपछि नागरिकले कुन सरकारी निकायबाट के सेवा पाइन्छ भन्ने जानकारी पाउने छन् । रासस
No comments:
Post a Comment