काठमाडौँ, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले खेलकुद क्षेत्र देशको पहिचान भएको बताउनुभएको छ ।
सेन्ट जर्ज इन्टरनेसनल स्कुलले आज यहाँ आयोजना गरेको ‘सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०७२’ को समापन तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले खेल क्षेत्रले नै राष्ट्रलाई संसारमा चिनाउने बताउनुभयो ।
मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता बलियो बनाउनका लागि विद्यालयदेखि नै विद्यार्थीलाई राष्ट्रवादी बनाउनुपर्नेमा मन्त्री पोखरेलको जोड थियो ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता देशव्यापी सञ्चालन भइरहेको बताउनुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का वरिष्ठ उपाध्यक्ष विजय सम्वाहाम्फेले शैक्षिक क्षेत्रमा खेलकुद एउटा पौष्टिक आहार जस्तै भएको विचार व्यक्त गर्नुभयो ।
सो प्रतियोगितामा प्रथम बूढानिलकण्ठ स्कुल, द्वितीय रिपुमर्दन सैनिक स्कुल र तृतीय हुने दीक्षान्त स्कुलका विद्यार्थीलाई मन्त्री पोखरेलले सिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा १२ स्कुलले भाग लिएका थिए । रासस
No comments:
Post a Comment