वाहाटी, (भारत), २९ माघ । जारी १२ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गुवाहाटीमा भएको कबड्डी प्रतियोगितामा आज नेपालले लगातार दोस्रो पराजय भोगेको छ ।
नेहरु स्टेडियममा भएको दोस्रो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको हो । खेलमा भारतविरुद्ध मध्यम खेल प्रदर्शन गरेको नेपाल पहिलो हाफमा १९÷११ ले पछि परेको थियो ।
दोस्रो हाफमा पनि २८÷१२ ले पछि परेपछि नेपालले समग्रमा ४७÷२३ ले खेल गुमाएको थियो । यसअघि नेपालले बिहीबार पाकिस्तानसँग पनि पराजय भोगेको थियो ।
पाँच देश सहभागी यो खेल राउण्ड रोविनको आधारमा खेलाइएको छ । सबैले सबै देशसँग खेलिसकेपछि अङ्कको आधारमा सेमिफाइनल पुग्ने चार देशको टुङ्गो लाग्नेछ ।
यसैबीच, महिलातर्फको कबड्डीमा पनि नेपालले हार व्यहोरेको छ । श्रीलङ्कासँगको खेलमा पहिलो हाफमा झिनो स्कोरले पराजित भएको नेपाल दोस्रो चरणको खेलमा २१÷१३ को अन्तरले पराजित भएको थियो । पहिलो हाफमा श्रीलङ्का र नेपालबीच २१÷१५ को अन्तर रहेको थियो । रासस
No comments:
Post a Comment