तुलसीपुर (दाङ), १५ फागुन । सभामुख ओनसरी घर्तीले नीति र विधि निर्माण गरी संविधान कार्यान्वयन गर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधान कार्यान्वयनको चरणमा रहेकाले सबैले धैर्य गर्नुपर्ने बताउनुभयो ।
नाकाबन्दी लगभग खुलेको र असन्तुष्ट समूहहरुसँग सरकारले थालेको वार्ता सकारात्मक बन्दै गएकाले नयाँ संविधान कार्यान्वयन पाटो सहज बन्दै गएको सभामुख घर्तीको भनाइ थियो ।
सभामुख घर्तीले भन्नुभयो – “हामी सबैले धैर्य गरौँ, आशा गरौँ अनि विश्वास गरौँ । यिनै राजनीतिक दलले संविधान निर्माण गरेका हुन् । कार्यान्वयन गर्न पनि त्यसैगरी लाग्ने छन् ।”
“मधेसवादी दलको असन्तुष्टि अझै पूर्ण रुपमा सम्बोधन भइसकेको छैन, त्यसका लागि सबै दलसँग समन्वय भइरहेको छ” – उहाँले भन्नुभयो ।
यसैबीच, राप्ती अञ्चल अस्पताल तुलसीपुर परिसरमा निर्माण गरिएको कालीकादेवी रक्तसञ्चार केन्द्रको शुक्रबार सभामुख घर्तीमगरले उद्घाटन गर्नुभयो ।
तुलसीपुर निवासी समाजसेवी वामदेव उपाध्यायले स्व. श्रीमती कालिकादेवी उपाध्यायको संस्मरणमा निर्माण गर्नुभएको भवनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरलाई शुक्रबार नै हस्तान्तरण गर्नुभएको थियो ।
उपाध्यायले झन्डै रु ५२ लाख खर्चेर रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अस्पताल परिसरमा १० कोठे भवन निर्माण गरिदिनुभएको हो । रासस
No comments:
Post a Comment